Logo
२ माघ २०८१, बुधबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोल ट्याङ्कीभित्र भेटियो सुन र चाँदी, दुई भारतीय नागरिक परे पक्राउ

जनकपुरधाम : मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउपर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी-४ का सुरेन्द्र महतो सुडीका ३७ वर्षीय छोरा कृष्णकुमार महतो सुडी र सोही ठाउँका परमेश्वर महतो सुडीका ३० वर्षीय छोरा रूपेश महतो रहेका छन् । बीआर ३२ एस ४३५७ नम्बरको पल्सर मोटरसाइकलको ट्याङ्कीमुनिबाट प्वाल बनाई प्वालमा ढोका जस्तो नट कसेको देखिएपछि शंका लागेर प्रहरीले सो नट खोलेर हेर्दा ट्याङ्कीभित्रमा सेतो रङको प्लास्टिकमा बेरेको सुन र चाँदी बरामद भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

बरामद भएकामा सुनको बाला दुई थान र चाँदीको दाना नौ प्याकेट रहेका छन् । प्रहरी प्रधान कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार बेलुका ५ः४५ बजे लोहना हुँदै भारततर्फ जान लागेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रहरी उपरीक्षक खनालका अनुसार सुन चाँदी व्यवसायी सङ्घबाट बरामद भएका सुन र चाँदी परीक्षण गराउँदा सुनको टुक्रा १०० ग्राम र चाँदी २५ किलोग्राम तौल रहेको छ । पक्राउ गरिएकालाई हिरासतमा राखी आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने कार्य भई रहेको जनाइएको छ ।

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्