Logo
१० माघ २०८१, बिहीबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक गोलचक्करमा मधेश, तर पाँचदिने भ्रमणको तयारीमा पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह मधेशको भ्रमणमा निस्किने भएका छन् । रेशम चौधरीलाई जन्मकैद, राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता, सिके राउतको रिहा र त्यसपछि ११ बुँदे सहमति लगायतको राजनीतिक गोलचक्करमा मधेशको राजनीतिक घुमिरहेको बेला शाह मधेशको भ्रमणमा निस्किनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ज्ञानेन्द्र शाहको मधेश भ्रमण हाललाई पाँचदिनका लागि तय भएको छ । ज्ञानेन्द्रको सचिवालय स्रोतका अनुसार उनले फागुन २९ गतेदेखि मधेस भ्रमण थाल्नेछन् । २९ गते जनकपुरमा बास बसेर उनी फागुन ३० गते सर्लाहीको मलङ्गवा जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

त्यहाँबाट उनी बास बस्न जनकपुर नै फर्किने छन् । यस्तै चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ । जनकपुरबाट उनी चैत २ गते उदयपुरको गाइघाट जाने कार्यक्रम रहेको छ । गाइघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गरी उनी झापा जाने कार्यक्रम रहेको उनको सचिवालय स्रोतले जनाएको छ ।

यसअघि गत फागुन २२ गते हुने भनिएको उनको मधेस भ्रमण आमा रत्नको स्वास्थ्यमा समस्या आएपछि स्थगन भएको थियो । पूर्वराजाका प्रेस संयोजक फणि पाठकले पूर्वराजाको मधेस भ्रमण स्थगित भएको जानकारी गराएका थिए । यो कार्यक्रमअनुसार पनि ज्ञानेन्द्रको जनकपुर केन्द्र बनाएर धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो।

ज्ञानेन्द्र शाहको मधेश भ्रमण धार्मिक भनिएपनि उनले त्यहाँको जनमत समेत बुझ्ने बताइएको छ । अनपेक्षित रुपमा राजनीतिक अवस्था परिवर्तन भइरहेको बेला त्यसप्रति उनले मधेशी जनताको धारणा बुझ्ने मनसाय राख्नुलाई महत्वका साथ हेरिएको छ । मधेशमा उनले विभिन्न व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनको स्वागतमा सर्लाहीमा स्वागतका लागि विशेष व्यवस्थाको तयारी भइरहेको बताइएको छ । उनको स्वागतमा पूर्वगृह राज्यमन्त्री सोनेलाल यादव लागेका छन् ।

ज्ञानेन्द्र शाहको स्वागतको तयारीमा लागेका सोनेलालले भने, ‘उहाँको स्वागतको तयारी भइरहेको छ । यहाँ पुजापाठ गर्नुको साथै विभिन्न राजनीतिक दलका नेता तथा समाजसेवीसँग भेट्ने कार्यक्रम समेत रहेको छ । त्यसको तयारी तथा प्रचार प्रसार भइरहेको छ ।’ उनले जनकपुरमा पनि विभिन्न राजनीतिक दलका नेता तथा व्यक्तित्वहरुलाई भेट्न आन्तरिक रुपमा तयारी गरिरहेका छन् ।

पूर्वराजदूत एवं राजनीतिक विश्लेषक विजयकान्त कर्णले मधेस अझैपनि राजनीतिको केन्द्रमा रहेको भन्दै यसबारे पूर्वराजा पनि जानकार रहेको धारणा राखे । ‘मधेश अझै राजनीतिक सेन्टर प्वाइन्टमा रहेको छ । सबैको ध्यान मधेशतिर रहेको छ’, उनले भने, ‘संघीयता र गणतन्त्रलाई मधेशले थेगेको कुरा केपी शर्मा अ‍ोली र प्रचण्डले बुझे जस्तै ज्ञानेन्द्रले पनि राम्रोसँग बुझ्नु भएको छ । त्यही भएर उहाँ पटक पटक मधेश गइरहनु हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसीको मन जित्न मधेसमा सक्रियता बढाएजस्तै ज्ञानेन्द्रले पनि धार्मिक भ्रमणको नाममा सक्रियता बढाउन खोजेको कर्णको विश्लेषण छ ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्