Logo
४ मंसिर २०८१, मंगलबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टुँडिखेलमा मनोक्रान्तिको निःशुल्क उत्प्रेरणा

काठमाडौँ : मनोक्रान्ति अभियान ३२औँ वर्ष प्रवेशका अवसरमा फागुन २६ देखि चैत २ गतेसम्म काठमाडौँको टुँडिखेलमा स्वास्थ्य, खुसी, अध्यात्म र योग मिश्रणसहित निःशुल्क उत्प्रेरणा शिविर सञ्चालन हुने भएको छ ।

केन्द्रले आज भृकुटीमण्डपमा पत्रकार सम्मेलन आयोजना गरी शिविरबारे जानकारी दिएको हो । बिहान साढे ६ देखि साढे ८ बजेसम्म सञ्चालन हुने सो शिविरमा दैनिक हजार जनालाई सहज योगसाधना गर्न मिल्ने विशेष–स्थल तथा बाहिरबाट आउनेलाई निःशुल्क बासको व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।

कार्यक्रममा मनोक्रान्ति अभियानका प्रणेता डाक्टर योेगी विकाशानन्दले स्वस्थ जीवनका लागि योग, साधना, ध्यान, रेकी, जीवनशैलीमा परिवर्तन एवम् सकारात्मक सोचको वृद्धि गर्नुको विकल्प नभएको बताए । शिविर वेदनालाई साधनामा बदल्न एउटा विशेष अवसर हुने भन्दै उनले आज हाम्रो समाज नसर्ने रोग (ब्लड प्रेसर, चिनी, थाइराइड, क्यान्सर आदि)ले बढी आक्रान्त हुँदै गएकाले त्यसबाट बच्न सकारात्मक जागरण अभियानको मात्रा बढाउनुपर्ने बताए ।

योेगी विकाशानन्दका अनुसार मान्छे प्रकृतिबाट जति टाढिँदै छ, त्यति रोगी बन्दै छ । दीर्घकालीन रोग बच्न खानपान एवम् जीवनशैलमा परिवर्तन अपरिहार्य छ ।शिविर स्वास्थ्य तथा आध्यात्मिक जागरणमा लागेका साधकहरूको लामो साधना र अनुभवको विशेष प्रस्तुति हुने मनोक्रान्ति केन्द्र नेपालका महासचिव डाक्टर सुवास घिमिरे बताए ।

कार्यक्रम सञ्चालनका लागि १८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।‘संसारलाई बदल्नु छ, सुरु आफैँबाट गर्नु छ,’ भन्ने नाराका साथ नेपालमा मनोक्रान्ति अभियान २०६३ बाट सुरु भएको हो । नागरिकको स्वास्थ, सोच र संस्कारमा परिवर्तनको अपेक्षासहित सुरु भएको आध्यात्मिक तथा सकारात्मकता जागरण अभियानलाई विश्वव्यापी बनाउन नेपालमा १५ वटा मनोक्रान्ति केन्द्र क्रियाशील छन् ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्