Logo
२ माघ २०८१, बुधबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीको फैसला पछि राजपा नेपालले बोलायो आकस्मिक बैठक

काठमाडौं : रेशम चौधरी लगायत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । उक्त फैसला पछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आकस्मिक बैठक बसेको छ । कैलालीको टिकापुरमा ८ जनाको ज्यान जाने गरि भएको घटनामा राज्यले राजपा नेपालका नेता समेत रहेका रेशम चौधरीलाई मुख्य आरोपी ठहर्याएको थियो ।

प्रहरीको खोजीमा रहेका रेशम चौधरी भारत प्रवासमा बस्दै आएका थिए । पछि पार्टीको सल्लाहमा कैलाली जिल्ला अदालतमा हाजिर हुन जाँदा उनलाई पूर्पक्षका लागि थुनामा राखिएको थियो । उनी फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभाको चुनाव जितेका थिए । उनी प्रतिनिधिसभा चुनाव जितेपनि निर्वाचन आयोगले प्रमाणपत्र दिएको थिएन ।

यता संसद सचिवालयले प्रतिनिधिसभा सदस्यको रुपमा सपथ पनि खुवाएको थिएन । थुनामा रहेका रेशम चौधरीको रिहा र थुनामुक्त गर्न राजपा नेपालले दवाव दिएपछि सरकारले पुस १९ गते सपथग्रहण गराएको थियो । मंगलवार कैलाली जिल्ला अदालतमा बहस हुँदा उनीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

अदालतले यस्तो निर्णय गरेपछि राजपा नेपालले आधिकारिक धारणा दिनका लागि अध्यक्षमण्डलको बैठक बसिरहेको अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले बताए । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एक बालकसहित आठ जनाको निधन भएको थियो । सो घटनामा मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार थिए ।

भारतको विभिन्न ठाउँमा लुक्दै बस्दै आएका रेशम चौधरीले भारत भ्रमणमा रहेका तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७३ भदौ ३१ गते दिल्लीको ताज होटेलमा भेटेपछि उनको मुद्दा कमजोर हुँदै गइरहेको थियो । त्यसपछि चौधरीलाई नेपाल फर्काएर मुद्दा फिर्ता लिन लगाउने योजना शुरु भएको थियो । तर, रेशम चौधरीमाथि लागेको मुद्दा फिर्ता लिन तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मात्र नसक्ने भएपछि उनले तत्कालीन एमालेका अध्यक्ष केपी ओलीसँग कुरा गरेका थिए ।

रेशम चौधरीको मुद्दा फिर्ता लिन प्रधानमन्त्री ओली तत्कालीन अवस्थामा सहमत भएका थिएनन् । २०७४ मंसिर प्रतिनिधिसभाको चुनाव सम्पन्न भएपछि दुई तिहाई बहुमत भएको सरकारको नेतृत्व गर्ने भएपछि मात्र ओली राजपा नेपालको माग रेशम चौधरीप्रति सकारात्मक भएका थिए । २०७४ फागुन ३ गते प्रधानमन्त्री भएका ओली फोरम र राजपा नेपाललाई पनि सरकारमा सहभागी गराउन प्रयास शुरु गरेका थिए ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्