रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उनकी पत्नीलाई उम्मेदवार बनाउने तयारी, ७ दिनमै काजकिरिया
पोखरा : दिवंगत पर्यटनमन्त्री तथा रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उनकी पत्नी विद्या भट्टराईलाई उपचुनावमा उम्मेदवार बनाउने तयारी नेकपाले थालेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको गण्डकी प्रदेशले कास्की जिल्लाको कमिटीसंग समन्वाय गर्दै यस्तो तयारी थालेको नेकपा नेताहरुको भनाई रहेको छ । “अहिले त यसबारे औपचारिक रुपमा बोल्नु राम्रो होइन तर हाम्रो तयारी उनकी पत्नीलाई नै उम्मेदवार बनाउनु हो” गण्डकी प्रदेश कमिटीका एक नेताले भने “उनका पत्नी पनि योग्य नै छन् । पार्टीले सर्वसम्तबाटै बिद्यालाई नै उम्मेदवार बनाउनेछन् ।”
यसैबीच दिवंगत पर्यटनमन्त्री अधिकारीकी पत्नी विद्याले दुःखद घडीमा परिवारप्रति देखाएको माया र सम्मानका लागि सबैलाई अभार व्यक्त गरेकी छन् । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीको सोमबार ७ दिनमा काजकिरिया पूरा भएको छ ।
सोमबार नै भएको श्रद्धान्जली सभामा परिवारको तर्फबाट रवीन्द्र पत्नी विद्याले छोटो सम्बोधन पनि गरिन् । गला अवरुद्ध पार्दै उनले भनिन्, ‘हाम्रो परिवारप्रति हजुरहरुले गर्नुभएको जुन सम्मान छ, त्यसलाई भुल्यौं भने त्यो सायद अपुरो हुन्छ भन्ने लागेर असमर्थताका बाबजुत पनि यहाँहरुसामू उपस्थित भएको छु ।’
अहिले आफ्नो परिवारले मात्र नभई सिंगो देशले रवीन्द्रको अभाव व्यहोरेको महसुस भएको उनले बताइन् । ‘हाम्रो परिवारसँग देश छ, पार्टी छ र आम जनसमुदाय हुनुहुन्छ । त्यही ढाडसले गर्दा यहाँहरुको अगाडि उभिरहेको छु र बोलिरहेको छु’ भनिन् । अकल्पनिय दुुर्घटना व्यहोनुपर्दा आफूहरु दुःखी भए पनि पार्टीले रवीन्द्रको सपना र विचारलाई बोकेर अघि बढ्ने छ विश्वास दिलाएको उनले बताइन् । ‘गुमेका कुराभन्दा पनि उहाँको विचार, अभिलाशा र उद्देश्यहरुलाई पुरा गर्न सिंगो पार्टी लाग्नेछ, सरकार लाग्नेछ’ उनले भनिन्, ‘परिवार त एउटा सानो इकाइ हो । हाम्रो साथ पार्टीलाई रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’
उनले रवीन्द्र अधिकारीको राजनीतिक जीवनमा आमाबाबु, भाइ र बहिनीको योगदानको चर्चा गरिन् । आफूलाई पनि राजनीतिले नै रवीन्द्रसँग जोडेको भन्दै उनले पारिवारिक व्यवस्थापनमा अफ्ठ्यारो पार्न सक्छ भन्ने लागेर विवाहपछि प्राज्ञिक क्षेत्रमा लागेको सुनाइन् । ‘उहाँको उत्कृष्ट, अब्बल र परिणाममुखी भएर अघि बढ्नुपर्छ भन्ने सोच थियो । त्यो सोचबाट आज हामीले उर्जा प्राप्त गरेका छौं’, अखिलको सचिवसम्म भएकी विद्याले भनिन् । उनले ‘रवीन्द्र स्मृति प्रतिष्ठान’ बनाउने सोच परिवारले बनाएको भन्दै पार्टी र नेताहरुसँग सरसललाह गरेर बाँकी काम अगाडि बढाउने प्रतिवद्धता जनाएकी छन् ।
७ दिनमै काजकिरिया : न सेता लुगा, न गरुण पुराण
यता, हिन्दू परम्पराअनुसार १३ दिनमा सकिनुपर्ने काजकिरिया रविन्द्र अधिकारीको परिवारले मंगलबार ७ दिनमै सम्पन्न गरेको छ । सात दिने काज किरिया पनि सामान्य किसिमबाट गरियो । बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका निवर्तमान पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सामान्य विधिसहित किरिया कर्म मंगलबार ७ दिनमै सकिएको हो । दुर्घटनास्थलबाट रवीन्द्रको शव काठमाडौं हुँदै पोखरा ल्याउँदा तीन दिन बितिसकेको थियो । त्यो दिनबाट मृत्यु संस्कार सक्ने समय ४ दिनमात्रै रहृयो ।
कम्युनिष्ट नेता अधिकारीको ७ दिने काज किरिया सामान्य एवं प्रगतिशील तरिकाले आयोजना गरिएको थियो । व्रतबन्ध गरेका ठूलो छोरा विराजले कपाल फाले पनि कान्छा छोरा स्वराज सानै भएकाले कपाल काटेनन् । न कुनै खलो वा खाना पकाउने थलो, न सेता लुगा, न पराल ओछ्याएर अलग्गै कुनामा बसाइ, न त कुनै ढिकुरो वा पिण्डको व्यवस्था । आमाछोरा एउटै कोठाको फरक ठाउँमा शुद्ध कपडा पहिरिएर बसे । एकछाक सात्विक भोजन गरे ।
सात दिनसम्म दिनहुँ गरुण पुराण वाचन गरिएन । सोमबार एक दिन संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक चतुर्भुज शर्माले गरुण पुराणको सारसंक्षेप सुनाएर भने, ‘हाम्रो मृत्यु संस्कार परिमार्जन हुन जरुरी छ ।’ सातदिने काज किरियाका क्रममा प्रत्येक दिन दिउँसो श्रद्धाञ्जली कार्यक्रम गरेर रवीन्द्रले गरेका कामको चर्चा गरियो । काजकिरिया समापनका दिन मंगलबार पोखरामा श्रद्धाञ्जली सभा सम्पन्न भयो । रवीन्द्रले गरेका कामको चर्चासँगै उनीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्दै काज किरिया समापन गरियो । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको श्रद्धाञ्जली सभामा रवीन्द्रको परिवारजनको सल्लाहमा बाल्यकालदेखिका सहयात्री धनराज आचार्यले ७ दिने काजकिरियाको घोषणा गरे ।
नेकपा गण्डकीले बिहीबार निवासमै श्रद्धाञ्जली सभा गर्दै रवीन्द्रको स्मरण गर्यो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले परिवारजनमा समवेदना व्यक्त गरे । रवीन्द्रको मृत्यु संस्कार ७ दिनमै सकिएपछि फेरि एकपटक यसले धर्म, संस्कृति र मृत्युपछिको संस्कारका विषयमा बहस सिर्जना गरेको धेरैले महसुस गरेका छन् । एकाथरि ठान्छन्, ‘मृत्यु संस्कार १३ दिन नै हुनुपर्छ ।’ तर, अर्काथरि भन्छन्, ‘हाम्रा संस्कार र धार्मिक पद्दतिहरु समयअनुसार परिमार्जन हुँदै जानुपर्छ ।’