दुःखद घटना वा अन्य तनाबका कारण आउने समस्या ब्रोकन हार्ट सिन्ड्रोमको सम्बन्ध मस्तिष्कसँग
स्वीट्जरल्याण्डका अनुसन्धानकर्ताले ब्रोकन हार्ट सिन्ड्रोम भनिने मुटुको दुर्लभ र असामान्य अवस्था भएका केहि व्यक्तिमाथि अनुसन्धान गरेका छन् । उक्त अनुसन्धानमा कुनै पनि दुःखद घटनापछि मुटुमा समस्या आउन सक्ने र यसको कारण मस्तिष्क हुन सक्ने वैज्ञानिकले बताए ।
अचानक मुटुको अवस्था कमजोर हुने ब्रोकन हार्ट सिन्ड्रोम कुनै पनि तनावपूर्ण घटना वा प्रिजयनको मृत्युसहितको अवस्थापछि हुने गरेको छ । युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा ब्रोकन हार्ट सिन्ड्रोमबारे केही थाहा भएको र केही बाँकी रहेको उल्लेख छ । यसमा तनावको भूमिका रहने देखिएको छ ।
हृदयघात रक्त नलिक ब्लक हुँदा हुन्छ । ब्रोकन हार्ट सिन्ड्रोममा स्वास प्रस्वासमा समस्या हुने र छातिमा दुखाई हुने लक्षण रहन्छ, जुन हृदयघातको लक्षण पनि हो । दुःखद घटनाले प्रायः गरि ब्रोकन हार्ट सिन्ड्रोमलाई ट्रिगर गर्न सक्छ । यस्तै विवाह वा नयाँ जागिरसहितका कारणले पनि यस्तो समस्या देखिन सक्छ ।
ब्रोकन हार्ट सिन्ड्रोम धेरै अवस्थामा अस्थायी हुन्छ र मुटुका मसल केही दिन, हप्ता वा महिनामा रिकभर हुन्छन् । तर केही अवस्थामा खतरनाक हुन सक्छन् ।