Logo
१३ मंसिर २०८१, बिहीबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब प्रदेशबाटै कम्पनी दर्ता र नवीकरण, जनकपुर चुरोट कारखानाको भवनमा कार्यालय राख्ने टुङ्गो

काठमाडौं : राजधानी काठमाडौंबाट मात्रै हुने कम्पनी दर्ता सम्बन्धि काम अब प्रत्येक प्रदेशबाट पनि हुने भएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयका लेखा प्रमुख अजय बर्तौलाले प्रदेश कार्यालयमा ७/७ जना कर्मचारीको दरबन्दी रहने बताए ।

जसमा उपरजिष्ट्रार १ जना, सहायक रजिष्ट्रार २ जना, नायब सुब्बा १ जना र कम्प्युटर अधिकृत १ जना रहने छन् । कार्यालय सहयोगी र सवारीचालक पनि १/१ जना रहने गरि एउटा कार्यालयको लागि ७ जनाको दरबन्दी स्विकृत भएको हो ।

अर्थमन्त्रालयले प्रदेश कार्यालयको लागि भन्दै ७५ लाख रुपैयाँका दरले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । बुटवल कार्यालयमा जान ईच्छुक कर्मचारीको नाम स्विकृतीको लागि सामान्य प्रशासन मन्त्रालयमा पठाइएको र इटहरी कार्यालयको लागि थप कर्मचारी व्यवस्थापन गर्न मन्त्रालयलाई नै लेखिपठाइएको बर्तौलाले जानकारी दिए।

कम्पनी रजिष्ट्रारको कार्यलयका अनुसार, प्रदेश ५ बुटवल कार्यालयको लागि बुटवलस्थित जनकपुर चुरोट कारखानाको भवनमा कार्यालय राख्ने टुङ्गो लागिसकेको छ । त्यस्तै प्रदेश १ स्थित इटहरी कार्यालयको लागि भने बिराटनगर रोड क्षेत्रमा भवन भाडामा लिने अन्तिम तयारी भइरहेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा उपरजिष्ट्रारले १० करोड रुपैयाँ स्थिर पूँजी भएका कम्पनी दर्ता गरिरहेकाले प्रदेश कार्यालयले पनि १० करोड रुपैयाँसम्मका कम्पनी मात्रै दर्ता गर्ने छन् ।

प्रदेश कार्यालयले हेर्ने कम्पनीका फाइल केन्द्रिय कार्यालयबाट उता लगिने र त्यसपछि नवीकरणका सबै काम प्रदेश कार्यालयबाटै हुनेछन् ।

सरकारले चैत पहिलो सातादेखि प्रदेश कार्यालयबाटै कम्पनी दर्ता र नवीकरणको काम गर्ने भएको छ ।

अनलाईन पेमेन्ट सुरु गरिसकेको कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाखदेखि डिजिटल सिग्नेचर र पूर्ण स्वचालित अनलाइन प्रणाली लागु गर्ने तयारी गरिरहेको छ । प्रदेश कार्यालयमा भने यीनै काम अर्को आर्थिक वर्षबाट मात्रै सुरु गरिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्