Logo
९ माघ २०८१, बुधबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई दिएको समर्थन फिर्ता लिन र अध्यक्षमण्डलको ब्यवस्था हटाउन राजपामा दबाब 

काठमाडौं : सरकारलाई दिएको समर्थन फिर्ता लिन राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वलाई नेता तथा कार्यकर्ताले दबाब दिएका छन् । पार्टीको सांगठनिक अवस्था बुझ्न चारवटा प्रदेशमा आयोजित अध्यक्षमण्डलको बैठकमा नेता–कार्यकर्ताले सरकारलाई दिएको समर्थन फिर्ता लिन जोड दिएका हुन् ।

बैठकमा सहभागी प्रदेश र जिल्लास्तरका नेता–कार्यकर्ताले उपलब्धिविना सरकारलाई समर्थन गर्नुको औचित्य नरहेको सुझाब दिएको अध्यक्षमण्डलका सदस्य सर्वेन्द्रनाथ शुक्लले बताए । ‘पार्टीले सरकारलाई समर्थन गरेको एक वर्षभन्दा बढी भयो, तर सरकारले पार्टीसँग गरेका प्रतिबद्धता के–के कार्यान्वयन गर्‍यो ?’ बैठकमा आएका सुझाबबारे शुक्लले नयाँ पत्रिकासँग भने, ‘उपलब्धिविनाको समर्थन फिर्ता लिन सुझाब आएको छ ।’

आगामी ७ देखि ९ वैशाखसम्म तय महाधिवेशनलाई लक्षित गरी बसेको बैठकमा जिल्ला अध्यक्ष, प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य सहभागी थिए । बैठकमा महन्थ ठाकुर भने अनुपस्थित थिए । प्रदेश १ को विराटनगर र २ को जनकपुरमा बैठक भएको थियो । यस्तै प्रदेश ५ अन्तर्गतका बाँके र बर्दिया तथा ७ का कैलाली र कञ्चनपुरको बैठक नेपालगन्जमा भएको थियो । प्रदेश ५ का परासी, रुपन्देही र कपिलवस्तुमा पनि अध्यक्षमण्डलको बैठक भएको थियो ।

अध्यक्षमण्डल नराख्न सुझाब
अधिकांश नेता-कार्यकर्ताले आगामी महाधिवेशनबाट अध्यक्षमण्डल नराख्न पनि सुझाब दिएका छन् । एक नेतालाई अध्यक्ष बनाउँदा पार्टी सुदृढ बन्ने धेरैको तर्क छ । ‘एक नेतालाई लोकतान्त्रिक प्रद्धतिबाट अध्यक्ष बनाउनुपर्छ भन्ने सुझाब आएको छ,’ शुक्लले भने, ‘अध्यक्षमण्डल बनाउँदा पार्टी व्यवस्थित रूपमा चल्न र विवाद कम हुन सकेन भन्ने तर्क उहाँहरूको छ ।’

बैठकमा आएका सुझाबमाथि जवाफ दिँदै अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले महाधिवेशनबाट अध्यक्षमण्डल नरहने बताएका थिए । ‘आगामी महाधिवेशनबाट अध्यक्षमण्डल रहँदैन,’ संयोजक यादवले भने, ‘लोकतान्त्रिक प्रक्रियाबाट एउटा अध्यक्ष चुनिन्छ ।’

तीन जिल्लामा चर्को विवाद
६ पार्टी मिलेर बनेको राजपामा अहिलेसम्म कपिलवस्तु, बाँके र कैलालीमा सबैभन्दा धेरै विवाद देखिएको छ । विवादकै कारण तीन जिल्लामा अहिलेसम्म सदस्यता वितरण र नवीकरणसमेत हुन सकेको छैन । ‘बैठकका क्रममा पनि बाँके, कैलाली र कपिलवस्तुमा धेरै विवाद देखियो । तीन जिल्लाकै विवादित नेताहरूका कुरा अध्यक्षमण्डलका सदस्यहरूले सुनेर टिपोट गर्नुभएको छ,’ शुक्लले भने, ‘ती विवादलाई समाधान गरेपछि मात्रै सदस्यता वितरण र नवीकरणको कार्य हुने अवस्था देखियो ।’

धनुषा, परासी, रुपन्देही, बर्दिया र कञ्चनपुरमा पनि विवाद रहेको नेताहरूले बताएका छन् । ६ पार्टी एकतापछि महाधिवेशन नभएकाले संगठन भएका सबै जिल्लामा कुनै न कुनै विवाद छ । तराईका ३५ जिल्लामा राजपाको संगठन रहेको महासचिव केशव झाले जानकारी दिए ।

भैरहवामा संगठन विस्तारबारे बैठक
शनिबार अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवसहित सदस्य राजेन्द्र महतो, अनिलकुमार झा, शरत्सिंह भण्डारी, राजकिशोर यादव र शुक्लको सहभागितामा भैरहवामा केन्द्रीय समिति बैठक बस्यो । बैठकमा अध्यक्षमण्डलका सदस्य र केन्द्रीय सदस्यहरूले जिल्ला समितिहरूसँग जिल्लामा पार्टीको अवस्था, संगठन विस्तार, महाधिवेशनलगायत विषयमा छलफल गरेका छन् । बैठकमा केन्द्रीय समितिका पदाधिकारी, कपिलवस्तु, रुपन्देही र नवलपरासी तीनै जिल्लाको अध्यक्षमण्डलका संयोजक/सदस्यको उपस्थिति थियो । अध्यक्षमण्डलका सदस्यहरूले रुपन्देही, नवलपरासी र कपिलवस्तुका पार्टीका नेता एवं कार्यकर्तासँग छुट्टाछुट्टै संगठन विस्तारसम्बन्धी अन्तक्र्रियासमेत गरे ।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्