किन बढ्यो पराकम्प ? विज्ञ भन्छन् – ठूलो भूकम्प गएको क्षेत्र वरिपरि जता पनि आउन सक्छ !
काठमाडौँ : पुस लागेसँगै यो दुई महिनाको अवधिमा ४ रेक्टर स्केलमाथिका भूकम्पका ६ वटा पराकम्प गएका छन् । काठमाडौँ लगायत आसपासका जिल्लाहरूमा लगातार भूकम्पको पराकम्प गइरहेको छ । पछिल्लो समय दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फागुन १४ गते १०ः ३० बजे दोलखा केन्द्रबिन्दू त्यसको पाँच मिनेट पछि सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्पको पराकम्प गएको थियो ।
भूकम्पमापन केन्द्रका अनुसार दोलखामा ४.४ रेक्टर स्केल र सिन्धुपाल्चोकमा ४.१ रेक्टर स्केलको पराकम्प गएको थियो । यस्तै फागुन ४ गते काठमाडौं केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । यता, फागुन २ गते ताप्लेजुङ केन्द्रविन्दू बनाएर ४.६ रेक्टर भूकम्प गएको थियो ।
भोजपुरसहितका पहाडी जिल्लामा माघ ८ गते भूकम्पको धक्का महसुस भएको थियो । विहान ४ बजेर ४५ मिनेटमा भोजपुर केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का छिमेकी जिल्लाहरू खोटाङ, संखुवासभा र धनकुटामासमेत महसुस भएको थियो । पुष २७ गते रामेछाप केन्द्रबिन्दु भएर बिहान ५ बजेर ४९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको थियो ।
त्यस्तै, भूकम्प मापन केन्द्रका अनुसार सबै पराकम्प २०७२ साल वैशाख १२ गतेकै गएको शक्तिशाली गोरखा भूकम्पका हुन् । पछिल्लो समय निरन्तर गइरहेको पराकम्पबारे भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले त्यस्तो आतिनुपर्ने कुनै कारण नरहेको बताए ।
उनले भने, ‘पराकम्प भनेको कुनै ठाउँमा ठूलो भूकम्प गएको छ भने त्यसको प्रभावका कारण बेलाबेला पराकम्प आइरहन्छ । पराकम्पबाट कुनै खतरा हुँदैन । त्यो ठूलो भूकम्पपछि सञ्चित भएको शक्ति देखा मात्र पर्ने हो ।’
पृथ्वीको भित्रिभाग सबै ठाउँमा एउटै खालको नभएको भन्दै बेलाबेला आउने पराकम्पबाट ठूलो भूकम्पको असर बाँकी नै रहेको बुझिने उनले बताए । केन्द्रका प्रमुख अकिारीले पछिल्लो समय निरतन्तर गइरहेको पराकम्पबारे भने, ‘कुनै निश्चित ठाउँमा एकै दिनमा आउने वा मिलाएर महिना महिना आउने भन्ने होइन । ठूलो भूकम्प गएको क्षेत्र वरिपरि जता पनि आउन सक्छ । त्यो कुनै समय अनुसार हुँदैन । कुनै महिना धेरै पटक आउन सक्छ ।’
२०७२ सालमा पनि कुनै दिनमा दुई तीन पटक पराकम्प आउने गरेको बताउँदै निरन्तर पराकम्प आउँदैमा आत्तिनु पर्ने नदेखिएको उनको भनाई छ । ‘केही समय पहिले ४।५ रेक्टरको एउटा पराकम्प अएको थियो । त्यस यता सानातिना पराकम्प आइरहका छन् । यी सबै त्यसैको कारण हो । यसबाट आत्तिनु पर्ने देखिँदैन । अहिलेबाट ठूलो खतरा निम्त्यिाउछ कि भनेर सोच्नु पर्ने अवस्था छैन । खाली त्यही भूकम्पको धङधगी बाँकी रहेको देखिन्छ । यसबाट कति पनि आत्तिनु पर्दैन,’ अधिकारीको भनाई छ ।