Logo
९ माघ २०८१, बुधबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ह्वीप’ लगाउँदा पनि कोरमको समस्या, मात्र ७ सांसद भए उपस्थित

काठमाडौं : आजको संसदीय सुनुवाई समितिको बैठक पनि गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । यसअघि, आइतबारको समिति बैठक कोरम नपुगेकै कारण स्थगित भएको थियो ।

थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाईका लागि बोलाइएको बैठक दुई पटकसम्म स्थगित भएको हो । १५ सदस्यीय सुनुवाई समितिको मंगलवारको बैठकमा जम्मा ७ जना सांसद उपस्थित थिए । नेकपाका मात्रै ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १/१ जना सांसद सदस्य रहेका छन् ।

त्यस्तै, आइतबारको बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपाले मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । तर, सांसदहरु सुमन प्याकुरेल र शिवकुमार मण्डल उपस्थित भएनन् । मण्डल विराटनगरबाट फर्किदै गरे पनि बैठकमा आइपुगेनन् । प्याकुरेल पनि काठमाडौं बाहिर छन् ।

संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठ पनि अस्वस्थ भएकाले बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले भने संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गरेका छन् ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्