Logo
९ माघ २०८१, बुधबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहिष्कारको चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन, दुवै पक्षले खोजे आफू अनुकूल सहमति

काठमाडौँ : नेपाली काङ्ग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ः३० बजेसम्म बस्न सकेको थिएन ।

बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच समिति गठन सम्बन्धमा सहमतिको प्रयास भएको थियो । नेता पौडेलले अनुशासन समितिमा रहने व्यक्ति सर्वसम्मतरूपमा चयन नभए बैठकमा अनुपस्थित हुने अडान लिनुभएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । नेता पौडेलको अडानपछि पनि संस्थापन पक्षका सदस्य बैठक कक्षमा प्रवेश गरेका थिए ।

तर संस्थापनइतर पक्ष अनुपस्थित भएपछि बैठक बस्दै नबसी स्थगन गरिएको थियो । केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले अनुशासन र निर्वाचन समिति गठनका सम्बन्धमा सहमतिका लागि थप छलफल आवश्यक रहेकाले आजको बैठक सारिएको जानकारी दिए ।

पार्टी कार्यालयले केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीको छलफल भएको र थप छलफलको आवश्यकता मध्यनजर राखी आजको केन्द्रीय समिति बैठक स्थगित गरिएको जनाएको छ । संयोजकसहित पाँच सदस्य रहने दुवै समितिलाई काङ्ग्रेसमा महत्वका साथ लिइन्छ ।

समिति गठनमा दुवै पक्षले आफू अनुकूल खोज्दा सहमतिमा ढिलाइ भएको बुझिएको छ । यसअघि यही फागुन १२ गतेको बैठकमा पनि पार्टीको विधान संशोधनको प्रस्ताव पारित गर्दा महासमिति बैठकको भावना नसमेटिएको भन्दै नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले फरक मत राखेको थियो ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्