Logo
९ माघ २०८१, बुधबार
(February 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसमा सहमति जुटाउन देउवा असफल, बहुमतको निर्णय मान्य नहुने पौडेलको चेतावनी

काठमाण्डौं : काँग्रेसलाई महासमिति बैठकले पारित गरेका केही प्रावधानहरुमा सहमति जुटाउन सकस परेपछि बहुमतबाट विधान अनुमोदनको तयारी भएको छ । सहमति जुटाउन सभापति देउवाले शनिबार गरेको प्रयाससमेत सफल हुन नसकेपछि अन्ततः बहुमतकै आधारमा विधान अनुमोदन हुने भएको हो ।

महासमितिले पारित गरेका विषयहरु केन्द्रीय समितिले अनुमोदन गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा नेताहरुबीच मत बाझिँदा पार्टी विधान बहुमतका आधारमा अनुमोदन गर्ने तयारी संस्थापन पक्षको छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलापक्ष संस्थापन पक्षको तयारीप्रति असन्तुष्टि जनाउँदै विरोध गर्ने तयारीमा लागेको बुझिएको छ ।

महासमितिका दस्तावेजलाई अन्तिम रुप दिन आज काँग्रेस केन्द्रीय समिति बैठक ११ बजेका लागि बोलाइएको छ । गत बिहीबार बोलाइएको बैठक नेताहरुबीच विवाद हुँदा सहमति जुटाउने भन्दै आइतबारलाई सारिएको थियो ।

‘सभापतिजीले महासमितिमै प्रतिवद्धता जनाएको विषयबाट पछि हटेर बहुमतका आधारमा अघि बढ्न खोज्दै हुनुहुन्छ । हामीलाई त्यो मान्य छैन । यदि बहुमतकै आधारमा निर्णय गर्ने हो भने किन अरु प्रकृयाहरुमा जानु रु,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार विहान रातोपाटीसँग भने, ‘उहाँको यस्तो तरिकाले पार्टीलाई हित गर्दैन र स्वयम् सभापतिलाई पनि ।’

गत पुसमा सम्पन्न महासमिति बैठककमा जिल्ला सभापतिहरुले अघि सारेको माग केन्द्रीय समितिमा रहेका नेताहरु महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने विषय समावेश गरिएको थियो । आजको बैठकमा पार्टी विधान सर्वसम्मत रुपमा अनुमोदन गर्न प्रयास हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

त्यस्तै शर्माले महासमितबाट पारित दस्तावेजहरुलाई टुङग्याउने बैठककको एजेण्डा भएकाले अन्य विषयमा आज छलफल नहुने बताए । काँग्रेसमा आन्तरिक नियमावली बनाउन कमिटी गठनका विषय र नेविसंघको तदर्थ समिति बनाउने विषयमा पनि विवाद छ ।

उता, सिटौला पक्षका केन्द्रीय सदस्य प्रदीप पौडेलले बहुमतका आधारमा नभई सहमतिकै आधारमा विधान अनुमोदन गर्नुपर्ने बताए । काँग्रेस स्रोतका अनुसार सभापति देउवापक्षकै नेताहरु विधान सर्वसम्मत या बहुमत कुन प्रकृयाबाट पारित गर्ने भन्नेमा विवादीत छन् ।

प्रकाशित मिति: Feb 24, 2019

प्रतिक्रिया दिनुहोस्