Logo
२८ पुस २०८१, आईतबार
(February 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदिक इतिहास सम्बन्धी ज्ञानको खोजी : संस्कृत ज्ञान परीक्षामा ७ हजार विद्यार्थी सहभागी

काठमाडौं : राजधानी स्थित टुँडिखेलमा शुक्रबार हिन्दु स्वयमसेवक संघ (एचएसएस) नेपालले ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ गरेको छ । संघले हिन्दु धर्म, संस्कार र परम्पराबारे विद्यालय तहमै ज्ञान दिने उद्देश्यले विगत चार वर्षदेखि निरन्तर परीक्षा गराउँदै आएको छ । यस वर्ष पनि उपत्यकाका तीन जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत ७ हजारभन्दा बढी विद्यार्थी परीक्षामा सामेल थिए ।

परीक्षार्थीलाई ५० वटा वस्तुगत प्रश्न सोधिएको थियो । त्यसमध्ये ६८ जनाले शतप्रतिशत सही जवाफ दिएका थिए । कक्षा-६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी परीक्षामा शतप्रतिशत जवाफ दिनेमध्ये गोला प्रथा गरिएकामा ट्रिनिटी इन्टरनेशनल काठमाडौंका कक्षा–१२ का छात्र निरजप्रसाद शाह प्रथम भएका छन् ।

यस्तै नाइटिङ्गेल मावि ललितपुरका कक्षा–९ की छात्रा आयुष शाह द्धितीय र समता स्कुल काठमाडौंका कक्षा–९ की छात्रा सोभिक्षा दाहाल तृतीय भएका छन् । उनीहरुलाई नगद क्रमशः ५१ हजार, २५ हजार र १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । बाँकीमध्ये गोलाप्रथाबाटै छानिएका २० जनालाई जनही एक हजार रुपैयाँले पुरस्कृत गरिएको आयोजक हिन्दु स्वयमसेवक संघका भुपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

शतप्रतिशत जवाफ दिने बाँकी सबैलाई एक–एक थान भागवत गीता उपलब्ध गराइएको छ । हिन्दू स्वयमसेवक संघ नेपालले धार्मिक, सांस्कृतिक तथा नैतिक शिक्षाको अभावमा नेपालको गौरवशाली इतिहास नै नामेट हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ ।

एक दिने सो परीक्षामा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयका ७ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा रामकृष्ण तिमल्सिनाले परीक्षाको उद्देश्यबारे जानकारी गराएका थिए । उनले आजका विद्यार्थी तथा युवा पुस्तालाई धर्म, संस्कृति र नैतिक शिक्षाको आवाश्यकता रहेको औँल्याए ।

उनले भने, ‘शिक्षा व्यवस्थामा आफ्नो शाश्वत धर्म, संस्कृति, नीति एवं राष्ट्रियताको ज्ञानलाई प्रमुख स्थान दिइनु पर्छ ।’ नेपालका विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरेर विदेश जाने सपना पाल्नुभन्दा पनि आफ्नो योग्यता यसै देशको विकास र निर्माणमा लगाउने पर्नेमा जोर दिँदै नागरिक समाजका अगुवा तथा सामाजिक अभियन्ता डा सुन्दरमणि दीक्षितले अभिभावक तथा शिक्षकहरूलाई देशलाई माया गर्ने शिक्षा प्रदान गर्न आह्वान गरे ।

‘स्वामी विवेकानन्दका अनुसार शिक्षाको उद्देश्य मानव निर्माण हो तर, निर्मित भएका शिक्षित युवा विदेश पलायन गर्ने भए देशको निर्माण कसले गर्छ रु’ डा. दीक्षितले प्रश्न गरे । हाम्रा समाजमा लुकेर रहेको सकारात्मक पक्षको उद्घाटन, त्यसबारे हाम्रा युवा पुस्तालाई सुपरिचित गराउने पुनीत उद्देश्ययुक्त यस अभियानले सार्थकता पाउनेमा आफू आश्वस्त रहेको कार्यक्रमका अतिथि वक्ता पूर्व शिक्षा सचिव महाश्रम शर्माले बताए ।

उक्त परीक्षामा त्रिनिटी इन्टरनेशनल उ.मा.वि.का कक्षा १२ मा अध्ययनरत विद्यार्थी निरज साह प्रथम, नाइटेङ्गल उमावि ललितपुरका आयुष साह दोस्रो र समता स्कूल काठमाडौँकी कक्षा ९ मा अध्ययनरत छात्रा सोविक्षा दाहाल तेस्रो भएकी छन् । सहभागी विद्यार्थीहरूमध्ये ६८ जनाले ५० वटै प्रश्नको उत्तर मिलाइ शतप्रतिशत अङ्क प्राप्त गरेका थिए, जसमध्येबाट गोलाप्रथाबाट चयनित प्रथम हुनेलाई ५१ हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई ११ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै २० जनाले सान्तवना पुरस्कार स्वरूप जनही एक-एक हजार रुपैयाँ प्रप्त गरे । नेपालको धर्म, संस्कृति, भाषा, भुगोल, राष्ट्रिय विभूति लगायत नेपालको वैदिक इतिहास सम्बन्धी ज्ञान अभिवृद्धि गराउने उद्देश्यले हिन्दू स्वयंसेवक संघ नेपालले विगत चार वर्षदेखि नेपालका विद्यार्थीलाई लक्षित गरी देशभरमै स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा लिँदै आएको छ ।

प्रकाशित मिति: Feb 23, 2019

प्रतिक्रिया दिनुहोस्