Logo
४ माघ २०८१, शुक्रबार
(February 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुईपक्षीय सम्झौता : अस्ट्रियाले नेपालको व्यापार, लगानी, प्रविधि हस्तान्तरणमा साथ दिने

काठमाडौं : नेपाल र अष्ट्रियाबीच व्यापार, लगानी, दीगो विकास, उर्जा, वातावरण, प्रतिआतंकवाद, प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने समझदारी बनेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वको सरकारी टोली र नेपाल भ्रमणमा रहेकी अष्ट्रियाकी विदेसमामिला मन्त्री करिन कनसेलको प्रतिनिधिमण्डलबीच शुक्रबार भएको दुईपक्षीय वार्तामा त्यस्तो समझदारी बनेको हो।

यस्तै केपी ओली नेतृत्वको सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा कार्यान्वयका लागि अष्ट्रियाले सहयोगको आश्वासन दिएको छ। वार्तापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकारसम्मेलनलाई संवोधन गर्दै भने,‘आगामी महिना हुने लगानी सम्मेलन र सरकारले लिएको भिजिट नेपाल २०२० को सफल कार्यान्वयका लागि अष्ट्रिया र नेपालबीच संभावित सहकार्यका विषयमा पनि छलफल भयो।’

यस्तै ज्ञवालीले संयुक्त राष्ट्रसंघ जस्ता मञ्चहरुमा सहकार्यलाई निरन्तरता दिने सहमति समेत नेपाल र अष्ट्रियबीच भएको जानकारी गराए। नेपाल र अष्ट्रियबीचको सहकार्यले ६० वर्ष पूरा गरेको अवसरमा परराष्ट्रमन्त्रालय र परराष्ट्र मामिला केन्द्रको सयुक्त आयोजनामा हुन लागेको कार्यक्रमलाई विशेष संवोधन गर्ने योजना सहित बिहीबार नेपाल आएकी अष्ट्रियाकी विदेस मामिला मन्त्री करिनको प्रतिनिधिमन्डलले होटल याक एण्ड यतीमा सरकारी टोलीसँग छलफल गरेको थियो।

छलफलमा नेपाल र अष्ट्रियको सम्बन्ध र दुई पक्षीय साझेदारीलाई थप सुदृढ पार्ने विषयमा समेत समिक्षा भएको थियो। दुई पक्षीय छलफल लगत्तै करिनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेटवार्ता समेत गरेकी छिन्। परराष्ट्रमन्त्री ज्ञवालीको निमन्त्रणमा नेपाल भ्रमणमा आएकी करिन शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: Feb 22, 2019

प्रतिक्रिया दिनुहोस्