Logo
५ मंसिर २०८१, बुधबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार मात्रै होईन, कांग्रेस पनि असफल, यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने

काठमाडौं : राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै आचार्यले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदापनि जनताले सोचेजस्तो काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘राजनीतिक स्थायित्व भएको, कम्युनिस्ट एकता भएको र दुई तिहाईको सरकार भएकोले जनताले विकास र समृद्धि द्रुत गतिमा होला भनेर आशा गरेका थिए, तर त्यस्तो भएन् ।’ उनले थपे, ‘अहिले मुलुकमा भ्रष्टाचार बढेको छ । वाईडबडी काण्ड छ, अरु पनि काण्डै काण्ड छन् । नेपालको भू–राजनीतिक अवस्था बिग्रिएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ । आगामी चार वर्ष पनि सरकार यही तरिकाले अघि बढ्यो भने जनताको यो सरकारसँग रहेको आशा र भरोसा समाप्त हुन्छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण सरकारले राम्रो काम गर्न नसकेको पनि उनले आरोप लगाए । उनले भने, ‘प्रतिपक्ष त अहिले सडक र सदन कहिँपनि छैन् । ७ वटै प्रदेशमा कांग्रेस छैन् । त्यही भएर सरकार निरंकुश बन्न खोजिरहेको छ । पशुपति शर्माको गीत प्रकरण पनि त्यसैको कडी हो । सरकारमात्रै होईन, कांग्रेस पनि असफल भएको छ ।’

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा जनताले कुनै किसिमको नतिजा नपाएको आरोप लगाए । उनले भने, ‘कुनै पार्टीसँग नजोडिएका पशुपति शर्माले जनताको भावना बोकेको गीत गाउँदो यो सरकार डरायो, पछिल्लो ५६ घण्टा त शर्माको गीतले नेपाल तातेको छ । उनले गाएको गीत धेरै कुरा जनताको भावनाको दर्पण हो ।’

ओली सरकार एउटा गीतको पछाडि लाग्नु भनेको अराजकता देखाउनु भएको पनि उनले टिप्पणी गरे । उनले भने, ‘हाम्रो देशमा अहिलेपनि राजा छाती फुलाएर हिँडिरहेका छन् । नेपाली जनताको कति उदार मन छ । राजा तथा महाराजाहरुले यो देशमा धेरै गरेका रहेछन् । यो देश जोड्ने तन्तु भनेको नै पहिलो कुरा राजा हो, दोस्रो नेपाली भाषा र तेस्रो हिन्दू धर्म हो ।’

संस्कृतविद् प्रा.डा.रमेश ढुंगेलले सरकार सफल वा असफल भन्नुभन्दापनि व्यवस्था नै असफल भएको दाबी गरे । उनले भने, ‘धर्मनिरपेक्षता र संघीयता लागु गर्दा जनताको मत लिइएन् । अहिले लोकतन्त्र र संघीयता दुवै फंक्शनिङ छैन् ।’

प्रकाशित मिति: Feb 20, 2019

प्रतिक्रिया दिनुहोस्