Logo
४ मंसिर २०८१, मंगलबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा छुवाछुत कायमै : बालकको शरीर छोएको निहुमा डोम आमाछोरीमाथि कुटपीट

सिरहा : सिरहामा कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा डोम आमाछोरी कुटिएको घटना सार्वजनिक भएको छ । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका-१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका हुन् ।  प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको घटना छताछुल्ल भएको छ ।

३ फागुनको बिहान स्थानीय मुतनी खोलामा शौच गर्न गएका ललिताका ८ वर्षीय छोरा सुशीलले छिमेकी अशोक सदायलाई छोएको निहुँमा ललिता र अमिरका कुटिएका थिए । अशोक अयोधीका नाति हुन् । ३ फागुनमै इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए पनि प्रहरीले मिलापत्र गर्न दबाब दिएको ललिताका श्रीमान् दुःखी मरिकले बताए ।

प्रहरीले दुईपटकसम्म छलफल आह्वान गरेको, तर पीडकको उपस्थितिविना नै मिलापत्र गर्न दबाब दिएको उनको गुनासो छ । दुवै छलफल असफल भएपछि घटना सार्वजनिक भएको हो । कुटपिटबाट आमाछोरी ललिता मरिक र अमिरका मरिक घाइते भएका छन् । ललिताको टाउको, पिठ्युँ, ढाड र कम्मरमा चोट लागेको छ भने अमिरकाको देब्रे हातको दुईवटा औँला फुटेको छ ।

घाइते पत्नी र छोरीलाई लहानस्थित रामकुमार-उमाप्रसाद स्मारक अस्पतालमा उपचार गरेको दुःखीले बताए । ‘लहान ल्याएर उपचार गराएँ,’ उनले भने, ‘सात हजार पाँच सय रुपैयाँ खर्च भयो । फेरि केही गर्लान् कि भन्ने त्रासमा छौँ ।’ अमिरका बहिनीको विवाहका लागि उदयपुर करैयाबाट माइती आएकी थिइन् ।

‘घरमा बसिरहेका आमाछोरीलाई उनीहरूले सानो जातको भएर ठूलो कुरा गर्ने भन्दै गालीगलौज, लछारपछार गर्दै कुटपिट गरेछन्,’ दुःखीले भने, ‘म काम गर्न लहान आएको थिएँ । घटना थाहा पाएपछि घरमा पुग्दा कुट्नेहरु हिँडिसकेका रहेछन् ।’ इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक राजेश थापाले आफूकहाँ छुवाछुतको सम्बन्धमा उजुरी नपरेको बताए ।

कुटपिटको मात्र निवेदन दर्ता भएको उनको भनाई छ । ‘त्यसकै आधारमा छलफल बोलाएको हो । जिउ छोएका कारण कुटपिट भएको हो भने निवेदन पनि त्यही रूपले आउनुपथ्र्यो,’ उनले भने ।

टेम्पो चढ्दा पनि छुवाछुत
ललिताका ससुरा ६१ वर्षीय चलतर मरिकले छुवाछुतका कारण लहान ओहोरदोहोर गर्ने टेम्पो चढ्न पनि आफूहरूलाई समस्या रहेको गुनासो गरे । ‘टेम्पोमा हामी चढेपछि अरू गाउँले चढ्दैनन्,’ उनले भने, ‘डोम चढेको टेम्पो चढ्दैनौँ भन्दै उत्रिन्छन् या यिनलाई उतारे मात्र जान्छौँ भन्दै टेम्पोचालकलाई धम्क्याउँछन् ।’ अमही गाउँ लहानबाट करिब चार किलोमिटर दूरीमा छ ।

यहाँ तीनवटा टेम्पो चल्ने गर्छ । ‘चालक केही भन्दैनन्, तर गाउँलेले तल्लो जातको भनेर हेला गर्छन्,’ चलतरले भने । सिरहामा डोम जातिको जनसंख्या करिब २ हजार २ सय रहेको समाजले जनाएको छ ।

प्रकाशित मिति: Feb 20, 2019

प्रतिक्रिया दिनुहोस्