Logo
४ माघ २०८१, शुक्रबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानपछि भारतमा साउदी अरेबियाका युवराज : विमानस्थलमै मोदीको स्वागत

साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) दुई दिने औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । क्राउन प्रिन्स एमबिएस मंगलबार अबेर राति भारतको राजधानी दिल्ली पुगेका छन् । क्राउन प्रिन्स एमबिएसलाई स्वागत गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलमै पुगेका थिए । पाकिस्तानको भ्रमण सकेर क्राउन प्रिन्स एमबिएस भारत आएका हुन् ।

पाकिस्तानमा उनले २० अर्ब डलरको लगानी सम्झौता गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि एमबिएसलाई स्वागत गर्न विमानस्थलमै पुगेका थिए । एमबिएस पाकिस्तानमा दुई दिन रहेका थिए । भारत प्रशासित जम्मू-कश्मीरको पुलवामा जिल्लामा गएको बिहीबार सुरक्षाकर्मीको गाडीमाथि भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको ज्यान गएको थियो । त्यसपछि भारत र पाकिस्तानबिचको सम्बन्धमा दरार आएका बेला साउदी क्राउन प्रिन्स एमबिएसले दुवै देशको भ्रमण गरेका हुन् ।

पुलवामा आक्रमणको असर क्राउन प्रिन्स एमबिएसको अहिलेको भ्रमणमा पर्न सक्ने विश्लेषण गरिएको छ । साउदी अरेबिया भारतमा आफ्नो तेल बढी मात्रामा बिक्री गर्न चाहन्छ । बुधबार क्राउन प्रिन्स एमबिएस र भारतीय प्रधानमन्त्री मोदीबिच औपचारिक भेटवार्ता हुनेछ । यसमा पुलवामा आक्रमणका बारेमा पनि चर्चा हुने सम्भावना छ । सोमबार साउदी अरेबियाका विदेश मन्त्री आदेल अल जुबेरले इस्लामावादमा भनेका थिए, ‘हाम्रो उद्देश्य दुई छिमेकी देशबिचको तनाव कम गर्ने हो र शान्तिपूर्ण रुपमा आपसी विमत्ति अन्त्य गर्ने सम्भावनाको खोजी गर्नु हो ।’

पुलवामा आक्रमण पहिले साउदी क्राउन प्रिन्सको भारत भ्रमणको मुख्य एजेण्डा भारतमा तेलको बिक्री तथा आर्थिक लगानी थियो । तर फेरिएको परिवेशमा त्योसँगै राजनीतिक चर्चा पनि हुने भएको हो । भारतले अहिले आयात गर्ने कुल तेल मध्ये २० प्रतिशत हिस्सा साउदी अरेबियाको छ । भारतले इरानबाट सबैभन्दा धेरै तेल आयात गर्छ । साउदी अरेबिया र इरानको सम्बन्ध राम्रो छैन, यस्तोमा साउदी अरेबिया इरानलाई पछि पार्न चाहन्छ ।

#WATCH Prime Minister Narendra Modi receives Saudi Arabia Crown Prince Mohammed bin Salman upon his arrival in India. pic.twitter.com/huwzGrPhFG

— ANI (@ANI) February 19, 2019

प्रकाशित मिति: Feb 20, 2019

प्रतिक्रिया दिनुहोस्