भारत-पाकिस्तान द्धन्द्ध : किन सधैँ बल्झन्छ कश्मिरको घाउ ?
आजको दिनमा कास्मिर शब्द मृत्यु, विध्वंश र जातीय सफायाको पर्यायजस्तै बनेको छ । भारतीय भूभाग जम्मु–कास्मिरको राजधानी श्रीनगरदेखि २० किलोमिटर मात्रै टाढा रहेको पालुवामा बिहीबार आतंककारी बिस्फोट भएपछि यहाँ फेरि त्रास फैलिएको छ । बम बोकेको कारले बसलाई ठक्कर दिँदा कम्तीमा ४२ जनाले ज्यान गुमाएका छन् । जैस ई मोहम्मद नामक विद्रोही समूहले बिस्फोटको जिम्मेवारी लिएको छ । अष्ट्रेलिया, रुस, अमेरिका, बेलायत, युएई, संयुक्त राष्ट्रसंघ, ब्रिक्सलगायतको आतंककारी सूचीमा परेको यस समूहलाई पाकिस्तानले संरक्षण दिएको भारतको आरोप छ ।
हमलाको कडा जवाफ फर्काउने चेतावनी भारतले पाकिस्तानलाई दिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘घटनामा कुनै संलग्नता नरहेको र अनुसन्धानविना नै निराधार आरोप लगाइएको’ जनाएको छ । दक्षिण एसियाका दुई ठूला देश कास्मिरको विषयलाई लिएर सधैँ टकरावमा उत्रने गर्छन् । सीमा क्षेत्रमा खटिएका दुवैतर्फका सैनिकले मच्चाउने दादागिरी, विद्रोही समूहको हिंसात्मक गतिविधि, दुई देशीय सेनाको भिडन्त, सेना र विद्रोहीबीचको भिडन्त, शंकाको दृष्टिले हेर्ने सरकारको व्यवहारलगायत कारणले कास्मिरी जनता सकसपूर्ण जीवन बाँच्न बाध्य छन् । प्रत्येक वर्ष ठूलो संख्यामा नागरिक तथा सैनिकहरूको मृत्यु हुन्छ । दक्षिण एसिया तथा विश्व राजनीतिमा यो विवादको बाछिटा पर्ने गरेको छ । जबकि, कास्मिर समस्याको हलो सीमा विवादमा अड्किएको छ ।
विवादको सुरुवात र प्रथम युद्ध
सन् १९४७ मा ब्रिटिस इस्ट इन्डिया कम्पनीबाट भारत स्वतन्त्र भयो । १४ अगस्टमा पाकिस्तान र १५ अगस्टमा भारतका दुई विशाल देश स्थापना भए । यी दुई देशसँग जोडिएको कास्मिर यतिवेलासम्म स्वतन्त्र राज्य थियो । कास्मिरका तत्कालीन महाराजा हरि सिंहलाई आफ्नो भूभागमा मिसिन दुवै देशले आग्रह गरे । यद्यपि, महाराजाले दुवै देशको प्रस्ताव अस्वीकार गरे । मुस्लिम बाहुल्य क्षेत्रका जनता हिन्दू राजाको दमन र अत्याचारबाट खुसी थिएनन् । जसको फाइदा उठाउँदै पाकिस्तानले आफ्नो सहयोगमा आन्दोलन चर्कायो । त्यसैबीच २२ अक्टोबरमा पाकिस्तानी सेना आन्दोलनकारीलाई सहयोग गर्न भन्दै सीमा क्षेत्र नाघेर कास्मिर छि-यो ।
यतिवेलासम्म धेरै भूभाग आन्दोलनकारीको कब्जामा आइसकेको थियो । पाकिस्तानी सेना श्रीनगरमाथि कब्जा जमाउन आएको चाल पाएसँगै महाराजा हरि सिंह भागेर भारतको शरणमा आए । २६ अगस्टमा उनले भारतमा मिसिन तयार रहेको सम्झौतापत्रमा हस्ताक्षर गरे । त्यसपछि आफ्नो भूभाग रहेको दाबी गर्दै भारतीय सेना कास्मिर छि-यो र पाकिस्तानसँग युद्ध सुरु भयो । १ वर्ष २ महिना २ हप्तासम्म चलेको लडाइँमा पाकिस्तानतर्फका ६ हजार तथा भारततर्फका ११ सय सैनिक मारिए । भारतका ३ हजार तथा पाकिस्तानका १४ हजार सैनिक घाइते भए ।
सुरक्षा परिषद्को निर्णय निष्प्रभावी
लगातारको युद्धले सर्वसाधारण चेपुवामा परेपछि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युद्ध अन्त्यका लागि दुवै देश तयार भएका थिए । ‘समस्या समाधानका लागि पाकिस्तानले आफ्ना सबै नागरिक र समुदायलाई विवादास्पद क्षेत्रबाट हटाउनुपर्ने र यस राज्यको भविष्य निर्धारण जनताको चाहनाअनुसार गरिने’ प्रस्ताव राष्ट्रसंघको सुरक्षा परिषद्बाट पास भयो । संयुक्त राष्ट्रसंघको मध्यस्थताका लागि संयुक्त राष्ट्रसंघले गरेको प्रयासको दुवै देशले स्वागत गरे । ५ जनवरी १९४९ मा दुई देशीय युद्ध पनि टुंगियो ।
तर, कास्मिरमा जनमत गर्ने विषयमा दुवैको आपत्ति थियो । अन्तर्राष्ट्रिय समुदायले पनि यस विषयमा त्यति धेरै चासो दिएन । बरु, भारत र पाकिस्तानबीच यसपछि पनि तीनपटक ठूला युद्ध भइसकेको छ । सन् १९७१ को युद्धमा पाकिस्तान पराजित भएपछि २ जुलाई १९७२ मा सिम्ला सम्झौता भएको थियो । युद्धबाट थलिएको पाकिस्तान यतिवेला आफ्नो भूभागबाट बंगलादेश अलग हुँदाको पीडामा थियो । यस्तो परिस्थितिमा आपसी द्वन्द्व अन्त्य गर्दै सम्बन्ध सुधार गर्ने सहमतिका साथ उसले सम्झौतापत्रमा हस्ताक्षर ग-यो ।
पाकिस्तानको भागमा एकतिहाइ भूभाग आजाद कास्मिर र गिल्गिट–बाल्टिस्तान प-यो । कास्मिर उपत्यका, लडक र जम्मु भारतको भागमा प¥यो । दुवै देशको संसद्बाट सिम्ला सम्झौता पारित भएपनि यसको उचित कार्यान्वयन हुन नसक्दा धेरै ठाउँमा सीमा समस्या देखिने गरेको छ । दुवै देशले पूरै कास्मिर आफ्नो भएको दाबी गर्छन् । जसका कारण दुई आणविक शक्तिराष्ट्रबीच सधैँ विवाद हुन्छ । प्रभावस्वरूप कास्मिर सधैँ अस्थिर रहन्छ । स्वतन्त्र कास्मिरको माग गर्ने समूहसहित यहाँ धेरै समूह विद्रोहमा छन् । सैनिक र विद्रोहीहरूबीचको भिडन्तमा सर्वसाधारणलाई ज्यान जोगाउन मुस्किल छ । हत्या, हिंसा र बलात्कारका घटना सामान्यजस्तै भइसकेका छन् ।
क्षेत्रीय महत्व
रणनीतिक रूपमा यो क्षेत्र दुवै देशका लागि महत्वपूर्ण छ । यहाँको पानी पाकिस्तानको उत्पादनशील क्षेत्र पन्जावमा सिँचाइ गर्न पुग्छ । कास्मिर हुँदै बग्ने इन्दु र यसका सहायक नदीहरू पाकिस्तानको स्वच्छ पानीको प्रारम्भिक स्रोत हो । त्यस्तै, चीनको महत्वाकांक्षी सिल्क रुट पनि पाकिस्तानको नियन्त्रणमा कास्मिर हुँदै अघि बढ्छ । त्यसैले, यहाँ चीनको पनि प्रत्यक्ष स्वार्थ जोडिएको छ । आजको दिनमा चीन पाकिस्तानको महत्वपूर्ण सैनिक तथा कूटनीतिक सहयोगी हो । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेको गिल्गिट, जहाँ अत्याधुनिक एयरफोर्स बेस राखेको छ ।
उक्त रुटको नियन्त्रण चीनलाई सुम्पेको छ । आजका दिनमा गिल्गिट हुँदै चीनले भारतलाई गहिरो दबाब दिन सक्छ । यसबाहेक सिल्क रुटले चीनसँगको पाकिस्तानको सम्बन्ध र व्यापारलाई पनि बलियो बनाएको छ । कास्मिरमा यस्ता धेरै क्षेत्रहरू छन्, जसको राजनीतिक महत्व ठूलो छ । त्यसमध्येको एक स्थान काराकोरम पासस्थित सियाचेन ग्लासियर हो । यो सानो क्षेत्र भारतको भूभाग हो, जसको एकातर्फ पाकिस्तान र अर्कोतर्फ चीन पर्छ ।
त्यसैले, यस भूभागमा भारतले ठूलो संख्यामा अत्याधुनिक हतियारसहित सैनिक परिचालन गरेको छ । आफ्नो उत्तरी क्षेत्रको सुरक्षाका लागि भारतले यस क्षेत्रमा विशेष निगरानी गर्नुपर्छ । यदि, भारतका दुई प्रतिद्वन्द्वी सेनाबीच यस क्षेत्रमा गठबन्धन तय भयो भने त्यो निकै शक्तिशाली हुनेछ । यसले भारतको सुरक्षा खतरा बढाउनेछ ।
विश्वव्यापी महत्व
कास्मिरको महत्व विश्व जगत्मा पनि उत्तिकै छ । मुस्लिम बाहुल्य कास्मिरमा अहिले धेरै अतिवादी समूह सक्रिय छन् । पश्चिमा राष्ट्रहरूको बुझाइमा यो क्षेत्र पाकिस्तानको कब्जामा गएमा वा स्वतन्त्र बनेमा अतिवादी क्रियाकलाप बढ्न सक्नेछ । यस्तो अवस्थामा अमेरिकाले भन्दै आएको ‘आतंकवादविरुद्धको विश्वव्यापी लडाइँ’ मा प्रत्यक्ष असर गर्न सक्छ । पश्चिमा शक्तिहरूले कास्मिरमा ठूलो चासो दिने गरेको विभिन्न घटनाक्रमले पुष्टि गर्दै आएका छन् ।
केही विश्लेषकको बुझाइमा स्वतन्त्र कास्मिर (जो भारत र पाकिस्तानको बीचमा हुनेछ), त्यो राज्य पश्चिमाहरूकै प्रभावमा रहनेछ, किनकि यो भूपरिवेष्ठित छ । यस्तो भएमा पश्चिमा शक्तिहरूले यहाँ सैन्य उपस्थिति देखाउने अवसर पाउनेछन् । जसका कारण आफ्नो प्रभावलाई मध्यपूर्वदेखि मध्य एसिया र चीनको पश्चिम सीमासम्म बढावा दिन सक्नेछन् ।
यद्यपि, अर्काथरी विश्लेषक यस्तो बुझाइप्रति असहमत छन् । कास्मिर उपत्यकाको भौगोलिक अवस्थाका कारण यहाँ सैनिक आधार शिविर राख्न महँगो र अव्यावहारिक हुने भएकाले पश्चिमाहरूले यसतर्फ चासो नदिएको उनीहरूको बुझाइ छ । जसले जे भने पनि पश्चिमा राष्ट्रहरूले कास्मिरलाई महत्व दिइरहेको विभिन्न घटनाक्रमले देखाउँछ । सन् १९८० को दशकको शीतयुद्धमा पाकिस्तान पश्चिमा जगत्को ठूलो सहयोगी थियो ।
सोभियत युनियनविरुद्ध अफगानिस्तानमा जारी युद्धमा पाकिस्तानको भूमिका महत्वपूर्ण रह्यो । यस समयमा भारतको भूमिका फरक थियो । बाहिरी रूपमा असंलग्न परराष्ट्रनीति अंगाले पनि भित्री रूपमा भारत सोभियत युनियनसँग नै नजिक थियो । त्यसैले, पश्चिमा जगत्ले कास्मिरको सवालमा पाकिस्तानलाई पूर्ण समर्थन गरे । सीमा क्षेत्रमा पाकिस्तानले मच्चाएको दादागिरी, ज्यादती र हिंसामा पश्चिमा जगत् मौन थियो ।
पश्चिमा जगत् र पाकिस्तानको समर्थनमा यहाँ धेरै विद्रोही समूह जन्मिए । सन् १९९० को दशकमा सोभियत युनियन विघटन भयो । त्यसपछि बिस्तारै पाकिस्तान र पश्चिमा जगत्बीचको न्यायो सम्बन्धमा चिसो छि¥यो । पश्चिमा राष्ट्रहरू पाकिस्तानले सीमा क्षेत्रमा आतंकवाद फैलाउन भूमिका खेलेको भन्दै आलोचनात्मक देखिन थाले ।
अहिले पश्चिमा जगत्ले पाकिस्तानलाई कास्मिरका विद्रोहीहरू तह लगाउन कुटनीतिक दबाब दिदैँ आएको छ । पाकिस्तानलाई दिने गरिएका आर्थिक सहयोग कटौती भएका छन् । विद्रोही पक्षमाथि पाकिस्तानी सरकारको पहिलेजस्तो नियन्त्रण छैन भन्ने बुझ्दा बुझ्दै पनि अमेरिकाले यस्तो गरेको छ । अहिले पश्चिमा जगत्ले भारतको नजरबाट कास्मिर समस्यालाई हेर्ने गरेको छ, भारतीय सरकारलाई खुसी बनाउन पनि यसो गरिएको हो ।
किनकि, पश्चिमा जगत्को चुनौती बनेर उदाएको चीनलाई क्षेत्रीय जगत्मा चुनौती दिने भारत नै हो । यसरी पाकिस्तान, भारत र पूरै विश्वका लागि कास्मिर उपत्यका महत्वपूर्ण छ । विगतका युद्धका कारण दुई देशले एकअर्कालाई घृणा गर्नुपर्ने अवस्था निम्तिएको छ । दुवै देशको राष्ट्रिय गौरवमा कास्मिरको महत्व ठूलो छ । दुवै देशका राजनीतिक पार्टीहरूले आफ्नो भोट सुरक्षित गर्न कास्मिरलाई प्रतिष्ठाको विषय बनाउँछन् ।
सांस्कृतिक विविधतासहितकोे सुन्दर क्षेत्र
कास्मिर दक्षिण एसियाको भूपरिवेष्ठित क्षेत्र हो । यो क्षेत्र भारत, पाकिस्तान, चीन र अफगानिस्तानबीच अवस्थित छ । ८६ हजार वर्ग माइलमा फैलिएको कास्मिर विश्वका ८७ वटा सार्वभौमसत्तासम्पन्न मुलुकहरूभन्दा ठूलो छ । यहाँ तीस लाखभन्दा धेरै जनसंख्या छ । मुस्लिम बाहुल्य क्षेत्र भए पनि हिन्दू, बौद्ध र शिख धर्मावलम्बीको समेत राम्रो छ । हिमालयले घेरिएको यस क्षेत्र हुँदै सतलज, इन्दुज, कास्मिरलगायतका नदीहरू बग्छन् ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण कास्मिरलाई ‘धर्तीको स्वर्ग’समेत भनिन्छ । यद्यपि, सीमा विवाद र आतंकवादी हमलाका कारण स्थानीयका लागि यो क्षेत्र नर्कसरह छ । अधिकांश जनसंख्या (पाकिस्तान र भारत दुवैतर्फ) अत्याधिक असन्तुष्टि र दमनमा बाँचेका छन् । त्यसैले कास्मिर दक्षिण एसियाको सर्वाधिक विवादस्पद र गरम बहस हुने क्षेत्रमध्ये पर्छ । #नयाँ पत्रिका