पुरुषवादी समाजमा महिलालाई शक्तिशाली बनाउने १० उपाय
मानव इतिहासमा महिलाले अत्यधिक समस्याको समाधान गर्नुपरेको कुरा कसैबाट लुक्न सकेको छैन । आधुनिक पुरुषवादी समाजमा महिला हुन कति गाह्रो छ भनेर धेरैले बताउने गर्छन् । तर अब संसारका हरेक कुनाका प्रत्येक महिलाले आफ्नो त्यो शक्ति पुनर्स्थापित गर्दै आफूलाई जसरी बाँच्न मन लागेको छ, त्यसरी नै बाँच्ने बेला आएको छ । यसका लागि केही काम र प्रयत्न गर्न आवश्यक छ । यहाँ हामी महिलाले आफूलाई शक्तिशाली बनाउन के-कस्ता काम गर्नुपर्छ भन्नेबारे जानकारी दिँनेछौं ।
आफूलाई माया गर्नुहोस् :
तपाईंको जीवनलाई उत्कृष्ट बनाउनका लागि तपाईंले आफूलाई माया गर्नैपर्छ । साना कुराबाट थालनी गर्नुहोस् जस्तै आफ्नो लागि केही समय छुट्टाउनुहोस् । एकान्तमा एउटा किताब र कफी लिएर आफ्नो ‘मी टाइम’ इन्जोइ गर्नुहोस् । यस्तो तालिका नियमित बनाइराख्नुहोस् । यसले तपाईंलाई शक्तिशाली, स्वस्थ र सुन्दर महसुस गर्न सहयोग गर्छ । डान्सिङ, जिम, फिटनेस, स्वस्थ खानपिन, घरमा बनाइएका मिठाई, ओर्गानिक कस्मेटिक – यी सबैले महिलालाई सशक्त बनाउन सहयोग गर्छ ।
योगा गर्नुहोस् :
शरिरको आन्तरिक र बाह्य सुन्दरताका लागि योगा निकै सहयोगी हुन्छ । यसले तनावको स्तर कम गराउँछ भने तपाईंको शरीरलाई बलियो र लचिलो बनाउँछ । दैनिक रुपमा योगा गर्नेहरुले आफूले आफैंसँग जोडिएको महसुस गर्नेछन् । योगाले आफैंलाई बुझ्न, शान्ति र स्वस्थ्य मानिसकताका साथ बाँच्न सिकाउँछ ।
आफूलाई स्विकार गर्नुहोस् :
तपाईंले यो कुरा धेरैपटक सुन्नु भएको होला तर आफ्ना सम्पूर्ण समस्या, मुद्दा, सपना, सफलता र विफलतालाई स्विकार गर्नु नै आफूलाई शक्तिशाली बनाउने प्रक्रियाको पहिलो पाइला हो । आफूलाई राम्रोसँग नियाल्नुहोस् र आफ्ना जीवनमा के–कस्ता कुराहरु लुकेका छन् त्यो राम्रोसँग चिन्नुहोस् । आफूलाई स्विकार गरेपछि मात्र तपाईंले आफूलाई कस्तो सोच्नुभएको थियो त्यो बनाउन सक्नुहुन्छ ।
आफ्नो समस्याबारे कुराकानी गर्नुहोस् :
अब तपाईंका साथी र आफन्तलाई विश्वास गरेर आफूलाई जे कुराले समस्यामा पारिरहेको छ, त्यसबारे कुरा गर्ने बेला आएको छ । चाहे त्यो सानो कुरा नै किन नहोस् वा जसले तपाईंलाई बर्षौंदेखि घोचिरहेको नै किन नहोस्, त्यस्ता समस्याबारे कुरा गर्दा जीवनमा ठूलै भिन्नता आउँछ । यसो गर्दा तपाईंले अनुभवी साथीभाइ र आफन्तबाट समस्याको हल पाउने सम्भावना अत्यधिक हुन्छ भने आफ्नो जीवनबारे इमान्दार हुँदा तपाईंले आफूलाई शक्तिशाली भएको महसुस गर्नुहुनेछ ।
आफ्ना सीमाहरु तय गर्नुहोस् :
साथीभाइ, आफन्त, सहकर्मी र आफूले माया गर्ने व्यक्तिहरुसँग सम्बन्ध स्थापित गर्दा स्वस्थ सीमा तय गर्नुहोस् जसले तपाईं र तपाईंको आवश्यकताको ख्याल राख्दै केही कुरामा ‘हुन्छ’ वा ‘हुँदैन’ भन्न सहजता प्रदान गरोस् । प्रत्येक स्थितीमा आफ्नो सीमा तय गर्दा आफूलाई सम्मान गर्नुहोस् ।
माफी दिने बानी बसाल्नुहोस् :
जीवनमा अघि बढ्न अत्यावश्यक छ । यसका लागि तपाईंलाई गलत बताउने मानिसलाई तपाईंले माफी दिनैपर्छ । साथै प्रत्येक विफलता, गल्ती र समस्याका लागि आफूलाई पनि माफी दिनुहोस् । भूतलाई भूत हुन दिनुहोस्, यसमा अडिग भइराख्नुको कुनै तुक छैन । भविष्यलाई अँगाल्नुहोस् र यसले निम्त्याउने प्रत्येक सम्भावनालाई आत्मसाथ गर्नुहोस् ।
अरुले के भन्छ भनेर चिन्ता नगर्नुहोस् :
मानिसहरुले तपाईंलाई जीवन कसरी बाँच्ने भनेर सिकाउँछन् तर वास्तविकता के हो भने तपाईंका लागि के सही छ, त्यो तपाईंलाई बाहेक अरु कसैलाई पनि थाहा हुँदैन । यसको अर्थ, अरुलाई के कुराले खुसी र सुखी दिन्छ, त्यसले तपाईंलाई पनि खुसी दिन्छ भन्ने छैन त्यसकारण अरुको सपनालाई पछ्याउन छोड्नुहोस् र आफ्नो जीवन बाँच्न सुरु गर्नुहोस् चाहे त्यो भयानक नै किन नहोस् ।
तपाईंलाई गल्ती गर्न छुट छ :
केही गल्ती नगरी तपाईंले नयाँ कुरा सिक्न लगभग असम्भव छ । व्यक्तित्व विकासका लागि यो निकै आवश्यक छ । खुल्ला रुपमा भन्नुपर्दा गल्ती सबैबाट हुन्छ । गल्ती गर्न नडराउनुहोस् किनभने यो सर्वव्यापी छ ।
आफ्नो ऊर्जा बचाउनुहोस् :
तपाईंको जीवनमा नकारात्मक र घातक विचार मात्र पैदा गर्ने व्यक्ति छन् भने उनीहरुलाई कुनै अफसोस बिना नै आफ्नो जीवनबाट बाहिरिन दिनुहोस् । यो तपाईंको जीवन र ऊर्जा हो, त्यसकारण यसलाई कसरी खर्च गर्ने त्यो आफूले निर्धारण गर्नुहोस् । यदि तपाईं कम ऊर्जावान् महसुस गरिराख्नुभएको छ भने आफ्ना सम्पूर्ण सम्बन्धलाई एकपटक नियाल्नुहोस् र तीमध्ये कतिलाई जान दिने हो त्यसबारे पनि सोच्नुहोस् । यसबारे तपाईंले मात्र निर्णय गर्न सक्नुहुन्छ ।
आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिरिनुहोस् :
तपाईं आफ्नो जीवनमा खुसी, उमंग र नयाँ अनुभव गर्न चाहनुहुन्छ भने तपाईं बोल्ड हुनुपर्छ र आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर निस्कनुपर्छ । यदि तपाईंलाई आफ्नो ऊर्जा क्षीण हुँदैछ भन्ने लागिरहेको छ भने केही नयाँ कुराको थालनी गर्नुहोस् । निकै अघिदेखि योजना बनाइरहेको स्थानको भ्रमण गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको मुड स्वतः सुध्रिनेछ । यसो गर्दा तपाईं आत्मविश्वासी पनि हुनुहुनेछ ।