बद्ध एयरबाट २४ हजारमै काठमाडौं-कोलकाताको दोहोरो उडान
काठमाडौं : बद्ध एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको कोलकाताबाट सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पश्चिम बंगालका राजधानी कोलकाता उडानका लागि बुद्ध एयरले त्यहाँ आफ्नो अधिकारिक कार्यालय पनि खोलिसकेको छ ।
बुद्ध एयरले नवबर्ष २०७६ को आगमनसँगै वैसाख २ बाट कोलकाता उडान भर्नेछ । कोलकाता-काठमाडौंको सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमानसेवा कम्पनि हो । शुरुमा हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान सञ्चालन गर्नेछ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर ७२ बाट गर्नेछ ।
यात्रुको समय र पैसाको वचत गर्ने भन्दै बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरेको छ । कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरु बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले गर्नेछन् ।
व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य लिएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि २ उडान भरिरहेको छ ।