Logo
९ माघ २०८१, बुधबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल सन्तुलित विदेश नीतिमा अग्रसर,पार्टी एकता कसैको दया वा मायाले भएको होइन : प्रचण्ड

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु सन्तुलित विदेश नीतिमा आधारित भएर अघि बढिरहेको र त्यसमा प्रतिबद्ध रहेको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार भएको जनआन्दोलन र जनयुद्धमा शहीद भएकाहरुलाई श्रद्धाञ्जली कार्यक्रममा नेकपाका दुई अध्यक्षमध्येका प्रचण्डले प्रतिक्रियावादीहरु र आफूहरुको एकतालाई सहन गर्न नसकेका अवसरवादीहरुले विभिन्न बहानामा पार्टीभित्रै फाटो र नेताहरुका बिचमा दूरी बनाउन चलखेल गरेको आरोप लगाएका हुन् ।

तत्कालीन एकीकृत माओवादी र तत्कालीन नेकपा एमालेबिच गएको जेठमा एकता भएपछि बनेको नेकपाको नेतृत्वमा पहिलोपटक जनआन्दोलन र जनयुद्धमा शहीद भएकाहरुलाई श्रद्धाञ्जली कार्यक्रम गरिएकाे हाे । नेकपा भित्र जनयुद्ध दिवस मनाउने वा नमनाउने भन्नेमा विवाद थियो । तर दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिच पहिले मनाउँदै आइएको जनयुद्ध दिवसका दिन जनआन्दोलन र जनयुद्धका शहीदको सम्झना कार्यक्रम गर्ने सहमति बनेको हो ।

आफूहरुको सहमति पार्टी एकतालाई बलियो बनाउने र सम्पूर्ण शहीदलाई सम्मान गर्ने खालको रहेको बताएका प्रचण्डले पछिल्लो पटक भेनेजुएला प्रकरणले पार्टी भित्र निम्तिएको समस्यालाई साम्य पार्ने प्रयास गरे । प्रचण्डले भेनेजुएलाको राजनीतिक संकटमा अमेरिकी कदमको विरोध गरेपछि नेकपा भित्र त्यसले आन्तरिक विवादको अवस्था निम्त्याएको थियो ।

तर पछि दुई अध्यक्षबिच छलफल भएर समस्या समाधान गर्ने प्रयास भएको देखियो । प्रचण्डले यहि प्रशंग तर्फ इंगित गर्दै आफूहरु सन्तुलित विदेश नीतिमा प्रतिबद्ध रहेको बताएका हुन् । प्रचण्डले पार्टी एकताको घोषणाको दिन जेठ तीन गते र तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको फागुन १ गतेको महत्व नेपाली कम्युनिष्ट आन्दोलनमा निकै उच्च रहेको बताए ।

फागुन १ गतेलाई जनयुद्ध मात्रै नभएर जनआन्दोलन र समग्र आन्दोलनका शहीदको सम्मानको रुपमा मनाउनु कम्युनिष्ट आन्दोलनको बिस्तारित रुपलाई दर्शाउने उनले बताए । आफूहरुले निकै विचार गरेर यस्तो निर्णय गरेको उनले बताएका छन् । प्रचण्डले अब चाँडै नै पार्टी एकता र सांगठनिक एकतालाई पूर्णता दिएर जनतासम्म अभियान लिएर जाने तयारीमा आफूहरु रहेको बताए ।

जनतालाई आफ्ना योजनाहरु बुझाउनका लागि एकताबद्ध भएर जाने उर्जा यो विस्तारित दिवसले दिएको उनले बताएका छन् । पार्टी एकता, दुई तिहाई बहुमतको सरकारबाट अत्तालिएका प्रतिक्रियावादी र अवसरवादीले पार्टी फुटाउन प्रयास गर्ने भएकाले यसमा सचेत हुनु पर्ने र विश्वलाई उदाहरण दिने गरी कम्युनिष्ट आन्दोलनको नयाँ सम्भावनालाई स्थापित गर्ने अवसर पनि आफूहरुसँग रहेको उनले बताएका छन् ।

पार्टी एकता कसैको दया वा मायाका कारण नभई कम्युनिष्ट आन्दोलनको उपलब्धीका कारण भएको उनले बताए ।

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्