Logo
९ माघ २०८१, बुधबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तारुढ नेकपा जनयुद्ध दिवस मनाउँदै : बाबुरामलाई प्रचण्ड नै प्याराे

काठमाडौँ : तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा बुधबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनयुद्ध दिवस मनाउँदै छ  तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । माओवादी र तत्कालीन नेकपा एमाले एक भएपछि उक्त दिवस मनाउने विषयमा नेकपा अलमलिएको थियो।

तत्कालीन माओवादी जनयुद्ध दिवस मनाउने पक्षममा थिए भने तत्कालीन एमाले नमनाउने पक्षमा थियो। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच दिवस मनाउने सहमति भएअनुसार दिवस मनाउन लागिएको हो।जनयुद्धको अगाडि जनआन्दोलन शब्द राखेर दिवस मनाईँदै छ। ‘जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम’ नाम दिइएको छ।

यसैबीच पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। सशस्त्र जनयुद्धको २४ वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गर्दै डा‍. भट्टराईले नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस (फागुन १ गते) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना भनेका छन्।

भट्टराईले संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न १० वर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२–६३ को जनआन्दोलनको प्रमुख भूमिका रहेको भन्दै यसलाई नभुल्न भनेका छन्। २०४८ सालदेखि ७१ सालसम्म एउटै पार्टीमा रहेका भट्टराई र प्रचण्ड अहिले फरक फरक पार्टीका प्रमुख छन्। तिनै प्रचण्डसँगको फोटो सामाजिक सञ्जाल ट्वीटरमार्फत राख्दै बाबुरामले जनयुद्धलाई सम्झेका हुन्।

बाबुराम र प्रचण्डले २०४८ सालदेखि २०५१ सालसम्म संयुक्त जनमोर्चाको शीर्ष स्थानमा रहेर काम गरेका थिए। संयुक्त जनमोर्चाबाट हटाइएपछि उनीहरू २०५२ साल माघ २२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४०-सूत्रीय माग पेश गरेर फागुन १ गते सशस्त्र जनयुद्धमा होमिएका थिए।

१० वर्ष चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भए। २०६२–६३ मा भएको जनआन्दोलनले माओवादीलाई शान्ति प्रक्रियामा ल्यायो भने २०६५ मा भएको चुनावमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्यो। त्यही पार्टीबाट तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने।

माओवादीबाटै डाक्टर बाबुराम भट्टराईले पनि प्रधानमन्त्रीको कार्यभार सम्हाले। तीन वर्षअघि माओवादीबाट अलग भएर छुट्टै पार्टी खोलेका बाबुराम भट्टराई अहिले नयाँ शक्ति नेपालका संयाेजक छन्।

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्