Logo
९ माघ २०८१, बुधबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र प्रमुख प्रतिपक्षी दलले मौकाको सदुपयोग गर्न नसकेको आरोप

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन् । उनले भने, ‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि असफल भयो । दुवै असफल भए । उनीहरूले अवसरको सदुपयोग गर्न सकेनन् ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भीर आरोप लगाउँदै अब आफ्नो पालो आएको बताए ।

उनले दुवै असफल भएकोले मुलुकमा राजतन्त्र फर्किन सक्ने सनसनीपूर्ण घोषणा गरे । उनले यस्तै भए नेपालमा राजतन्त्रपनि फर्किन सक्ने दाबी गरे । उनले भने, ‘राजतन्त्र फर्किन सक्छ।’ राणाले ओली सरकारलाई दुई तिहाई ल्याएको भन्दै मान्नैपर्ने तर्क गरे । उनले भने, ‘ओली सरकारलाई मान्नैपर्छ । ०४७ सालपछि पहिलोपटक दुई तिहाईको बहुमत ल्याउन सफल भएको छ । ओलीजीको लागि यो मौका हो ।’ राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको मौकाको सही सदुपयोग भने गर्न नसकेको आरोप लगाए ।

एक वर्षमा सरकारले के-के राम्रो काम गर्‍यो त भनेर पाना-पाना पल्टाइपल्टाइ हेर्‍यो भने मौका खेर फालेको पाइने उनको तर्क छ । सरकारले यो एक वर्षमा हाँसिल गरेका उपलब्धि शून्य रहेको बताए । व्यापार घाटापनि डरलाग्दो रहेको उनको भनाई छ । उनले भने, ‘आयातको दश प्रतिशत जति पनि निर्यात भएको छैन् । हरेक क्षेत्रमा सरकारले खास केही प्रगति गर्न सकेको छैन् । काम केही भएकै छैन् ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर सार्वजनिक भाषण गरेपनि व्यवहारमा त्यस्तो नभएको उनको आरोप छ । कुटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाले आरोप लगाए। उनले भने, ‘अहिले कुटनीतिक सन्तुलन गुमेको छ । हामी एकतीर ढल्केका छौं ।’ उनले भेनेजुयला प्रकरणमा पनि वक्तव्य जारी गरेर अमेरिकासँग जोरी खोज्ने काम गरेको भन्दै सरकार तथा नेकपाको आलोचना गरे ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल भएको दाबी गरेका छन् । उनले भने, ‘अहिले युद्धस्तरमा विकास निर्माणका काम भइरहेको छ । बाटाहरू धमाधम चार लेनबाट ६ लेन, र ६ लेनबाट ८ लेनमा स्तरोन्नती भइरहेका छन् ।’ सरकारले यो एक वर्षमा धेरै महत्वपूर्ण कामहरू गरिरहेको पनि उनले विश्वास दिलाए ।

उनले भारतसँग पिटिए भएको, केरुङ–काठमाडौं रेलमार्गको डिपिआर पनि निर्माण भइसकेको जनाए। भारतबाट काठमाडौं रेल आउने, पूर्व-पश्चिम रेलमार्गको पनि काम भैरहेको लगायत विकास निर्माणका फेहरिस्त उनले सनाए । बडालले यो एक वर्षमा सरकारले विकासको जग हालेको पनि दाबी गरे। यद्यपि उनले सरकारले केही काम नै गरेन र अर्थतन्त्र नै डामाडोल भयो भनेर लगाइएको आरोपमा भने कुनै सत्यता नभएको भन्दै खण्डन गरे ।

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्