Logo
१० मंसिर २०८१, सोमबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिचान गुमाउन सक्ने अवस्थामा रोल्पाको ऐतिहासिक दरबार

रोल्पा : ऐतिहासिक तथा सांस्कृतिक धरोहरको संरक्षणमा चासो नदिँदा रोल्पाको खङ्ग्रिकोट दरबार खण्डहरमा परिणत भएको छ । सोह्रौं शताब्दीमा राजा फत्तेप्रचण्ड सेनले शासन गरेको खङ्ग्रिकोट दरबार संरक्षणको अभावमा खण्डहर बन्दै जान थालेको हो । ऐतिहासिक र सांस्कृतिक पर्यटनकोे उच्च सम्भावना बोकेको यो दरबार संरक्षणका अभावमा आफ्नो पहिचान गुमाउन सक्ने अवस्थामा पुगेको छ ।

यसको संरक्षण र व्यवस्थापन गर्न सके यहाँ उल्लेखनीय सङ्ख्यामा पर्यटक आउने र यसबाट गाउँको विकासमा समेत टेवा पुग्ने विश्वास स्थानीयवासी मिलन सिंहको छ । दरबारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने आधार रहेकाले यस तर्फ ध्यान दिनुपर्ने सिंहको सुझाव छ । विगतमा दरबार संरक्षणका लागि स्थानीयवासीले पटक÷पटक अनुरोध गर्दा कुनै निकायबाट सहयोग नपाएको बताउँदै उनले यो दरबार राज्यको ऐतिहासिक सम्पत्ति भए पनि यसको संरक्षणमा ध्यान नदिनु दुःखद र्भको बताए ।

स्थानीय सरकार गठनपछि धार्मिक तथा ऐतिहासिकस्थलको विकास र प्रवद्र्धनमा विशेष ध्यान दिँदै खङ्ग्रिकोट दरबारको संरक्षणमा समेत बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । बजेट विनियोजन गरे पनि दरबारको हकवालाले स्थानीय तहलाई संरक्षणको अनुमति नदिएपछि बजेट अन्यत्रै खर्च गर्नुपरेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए ।

दरबार गाउँपालिकाको मात्रै नभएर जिल्लाकै महत्वपूर्ण सम्पत्ति भएकाले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ अध्यक्ष घर्तीले भने । दरबारको दीर्घकालीन संरक्षणका लागि हकवालासँग छलफल भइरहेको गाउँपालिकाले जनाएको छ । दरबार भत्किँदै जाँदा त्यहाँ प्रयोग भएका महत्वपूर्ण काठपात, इँट्टा भिङ्गटीसमेत हराउँदै जान थालेको छ । सो दरबारमा तत्कालीन राजाले प्रयोग गर्ने भाँडाकुडा समेत रहेको छ ।

चार कोठे उक्त दरबारमा राजाको सिंहासन, स्नान कक्ष, भान्सा घरलगायतका कोठा रहेको बताइन्छ । दरबार नजिकै राजाले प्रयोग गर्ने पोखरी र मन्दिरसमेत रहेको छ । मन्दिरमा दशैँको समयमा विशेष पूजाआजा गर्ने चलन अझै कायम रहेको स्थानीयवासीको भनाइ छ । दरबारको समग्र विकास हुनसके खङ्ग्रिकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिने पर्यटनका जानकार बताउँछन् ।

खङ्ग्रिकोटको चतुरभुजमा रहेको शिव पञ्चायन मन्दिर, सोही स्थानमा रहेको धार्मिक वनलाई प्याकेजमा विकास गर्न सके यो क्षेत्र पर्यटकीय हब हुनसक्ने पर्यटन पत्रकार सङ्घ रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दले बताए ।

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्