Logo
४ मंसिर २०८१, मंगलबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिबद्धताबाट सरकार पछि नहट्ने

काठमाडौं : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिबद्धताबाट सरकारपछि नहटेको बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले पार्टीको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक ५ हजार वृद्धभत्ता दिने प्रतिबद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने बताएका हुन् ।

उनले सरकारले सूरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अब मासिक ५ हजार भत्ता दिने कामलाई सुरु गर्ने पनि स्पष्ट पारे । उनले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि यहि फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गर्न लागेको जानकारी पनि दिए ।

आईतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले केहीले भनेजस्तो सरकार चुनावी घोषणापत्र र आफ्नो नीति तथा कार्यक्रममा गरिएको प्रतिबद्धताबाट पछि नहटेको दावी पनि गरे । उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका बेला जनतासँग गरिएको प्रतिवद्धतालाई सरकारले तलमाथि हुन नदिने पनि दोहोर्याए ।

काठमाडौं महानगरपालिका ४ वडा समितिको पहल र स्थानीयको समर्थनमा चण्डोल दक्षिणामूर्ति आश्रम नजिक सार्वजनिक जमिनमा व्यक्तिले करिब ११ वर्षदेखि कब्जा गरी बनाएको घर कब्जाबाट मुक्त गरि सोही घरबाट वडा कार्यालयको काम सूरु गरिएको हो । बालुवाटारस्थित वडा भवन रहेको जमिनमा नयाँ वडा भवन निर्माणको काम सुरु गर्न लागिएकाले सो वडा कार्यालयको काम उक्त कब्जामुक्त गरिएको भवनबाट सुरु गरिएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्