Logo
४ मंसिर २०८१, मंगलबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतीबाट पीडित हूँ भन्दै सम्बन्धविच्छेदका लागि सम्बन्धित निकाय धाउने पुरुष बढे

पाल्पा : श्रीमानबाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् । श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् ।

विविध कारण देखाउँदै पुरुष स्वयं जिल्ला अदालतमा न्यायका लागि जान थालेका हुन् । विशेषगरी वैदेशिक रोजगारमा रहेका श्रीमान् श्रीमतीपीडित भएको भन्दै न्यायको उन्मुक्तिको बाटो खोज्दै अदालतमा पुगेका छन् । वैदेशिक रोजगारीका क्रममा श्रीमती परपुरुषसँग सम्बन्ध स्थापित गर्नु,वैदेशिक रोजगारीमा कमाएको धन हिनामिना गर्नुजस्ता कारण देखाउँदै पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको पाइन्छ ।

चालु आर्थिक वर्षको छ महीनाको अवधिमा जिल्लामा सम्बन्धविच्छेदका १२२ मुद्दा दर्ता भएकोमध्ये ८७ महिला र ३५ पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत पाल्पामा पुगेर मुद्दा दर्ता गराएका छन् । हुन त यो तथ्याङ्कले पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर बढी देखिन्छ । तर जिल्लामा हिजोको अवस्था र अहिलेको अवस्थालाई हेर्दा सम्बन्धविच्छेदका लागि पुरुषको सङ्ख्या धेरै बढ्दो छ नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका मुद्दा लिएर पुरुष जिल्ला अदालत धाउन थालेका हुन् ।

भदौ एक गतेबाट नयाँ मुलुकी संहितासम्बन्धी ऐन प्रचलनमा आएपछि पुरुषले पनि अदालतमा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउन पाइने व्यवस्था छ । सोही अनुसार सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन जाने गरेका छन् । पुस मसान्तसम्म दर्ता भएका १२२ मुद्दामध्ये ५९ मुद्दा फर्स्योट भएको जिल्ला अदालत पाल्पाका श्रेष्तेदार भेषराज खनालले जानकारी दिए ।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्