अविरल वर्षासँगै अष्ट्रेलियामा भीषण बाढी, मंगलबार दुईजनाको मृत्यु
टाउन्सभिल : केही दिनदेखि अविरल वर्षा भएसँगै अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । अष्ट्रेलियामा केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।
उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन् । सो क्षेत्रका करिब ११ हजार घरपरिवारलाई सहायता जरुरी भएको बताइएको छ । उनीहरु बाढीको चपेटामा परेका छन् भने बिजुली, खानेपानी तथा अरु आधारभूत आवश्यकताबाट पनि वन्चित हुन पुगेका बताइएको छ ।
अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यो शताब्दीकै शक्तिशाली बाढीका कारण देशमा ठूलो क्षति पुगेको बताएका छन् । उनले उद्धार र सहायताको काममा खट्न देशका सुरक्षाकर्मी तथा उद्धारकर्मीहरुलाई आग्रह गरेका छन् ।
अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने यस टाउन्सभिललाई बढी प्रभावित पारेको छ । उक्त क्षेत्रमा अरु केही घन्टासम्म पानीको मात्रा नघट्ने मौसम अधिकारीहरुले जनाएका छन् ।