Logo
२८ पुस २०८१, आईतबार
(February 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देवघाटमा आजबाट विराट ज्ञानमहायज्ञ, फागुन १ गतेसम्म चल्ने

चितवन : पवित्र तीर्थस्थल देवघाटमा आजबाट (मङ्गलबारदेखि) विराट ज्ञानमहायज्ञ महेश सन्यास आश्रमको आयोजनामा गर्न लागिएको छ ।

महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो । महायज्ञमा १०८ श्रीमद्भागवत पाठपारायण गरिनेछ ।

महायज्ञमा चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्ष्यहवन गरिने महायज्ञ मूल आयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले बताउनुभयो ।

महासङ्घ प्रचारप्रसार समितिका संयोजक टङ्कनाथ पौडेलका अनुसार महायज्ञका लागि १००८ स्वामी रमणानन्द गिरीको अध्यक्षतामा एक हजार आठ सदस्यीय आयोजक मूल समारोह समितिसमेत गठन गरिएको छ । यस्तै ६० जिल्लामा उपसमिति गठन गरी प्रचारप्रसारलाई व्यापक बनाइएको छ ।

महायज्ञ मूल आयोजक समितिका सचिव ध्रुव अधिकारीका अनुसार वैदिक सनातन धर्म, संस्कृतिको संरक्षण र संस्कृत शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०५० मा स्थापना भएको गुरुकूलमा महायज्ञ आयोजना गर्न लागिएको हो ।

महायज्ञमा प्रमुख कथा वाचकका रुपमा आश्रमका पिठाधीश १००८ स्वामी रमणानन्द गिरि रहनुभएको छ । सो गुरुकूलमा कक्षा ६ देखि आचार्यसम्म अहिले ३०० जना विद्यार्थी अध्ययनरत छन् ।

महायज्ञ फागुन १ गतेसम्म चल्नेछ । यसअघि गुरुकूलले विसं २०६५ मा पहिलोपटक विराट ज्ञान महायज्ञको आयोजना गरेको थियो ।

प्रकाशित मिति: Feb 5, 2019

प्रतिक्रिया दिनुहोस्