Logo
८ माघ २०८१, मंगलबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारविरुद्ध काँग्रेस सडकमा : विरोध सभाका लागि शीर्ष तथा केन्द्रीय नेताहरू गृह जिल्लामा

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध आज देशभर शक्ति प्रदर्शन गर्दैछ । ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन र विरोधसभा गर्न लागिएको काँग्रेसले जनाएको छ ।

विरोध सभाका लागि काँग्रेस शीर्ष तथा केन्द्रीय नेताहरू जिल्लामा पुगिसकेका छन् । विरोध प्रदर्शनमा सहभागी हुन अधिकांश शीर्ष नेताहरूले आफ्नो गृह जिल्ला छानेका छन् ।

त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौँको विरोध सभालाई सम्बोधन गर्नेछन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा हुने विरोध प्रदर्शनको नेतृत्व गर्नेछन् । पार्टी उपसभापति विमलेन्द्र निधि धनुषामा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्नेछन् भने सहमहामन्त्री प्रकाशशरण महत दाङको विरोध सभामा सहभागी हुन उतै गएका छन् ।

महामन्त्री डा. शशाङ्क कोइराला नवलपरासीको नवलपुरमा हुने विरोध सभामा सहभागी हुनेछन् भने नेता शेखर कोइराला मोरङमा खटिएका छन् ।

त्यस्तै, युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुने तथा प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेगरी त्यसतर्फ लागेका छन् । केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नुवाकोटमा हुने विरोध सभालाई सम्बोधन गर्दैछन् । पार्टीले केन्द्रीय नेताहरूलाई जिल्ला जान निर्देशन नदिएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

काठमाडौँमा १ बजेपछि हुने विरोध प्रदर्शनका लागि सहरका विभिन्न स्थानबाट र्याली निकाल्ने र रत्नपार्कस्थित शान्ति बाटिकामा कोणसभामा परिणत गर्ने काँग्रेसले जनाएको छ ।

काठमाडौँमा हुने सभालाई सभापति देउवासहितका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने सभापति बानियाँले जानकारी दिए । उपत्यकामा ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् ।

विरोधका एजेन्डा

काँग्रेसले विरोध प्रदर्शनमा वाइडबडी खरिदमा भएको घोटाला, ३३ किलो सुन काण्ड, निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानबिन र प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा आयोगहरूमा अध्यक्षको नियुक्ति सिफारिस जस्ता विषयलाई प्राथमिकता बनाउने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

साथै बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय, भेनेजुएला प्रकरणमा सरकार र नेकपाले गरिरहेको अमेरिकाको विरोध, महँगी, भ्रष्टाचार तथा अनेकौँ जनविरोधी निर्णय विरोध प्रदर्शनको मुद्दा बनाएको काँग्रेसले जनाएको छ । माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले सरकारविरोधी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

भ्रातृ सङ्गठन पनि सडकमा

काँग्रेसले आफ्ना भ्रातृ सङ्गठनलाई पनि सडकमा उतारिसकेको छ । यसअघि नेपाल तरुण दलले सातै प्रदेशमा विरोध प्रदर्शन गरिसकेको छ भने नेविसङ्घ र नेपाल महिला सङ्घले पनि सरकारको विरोधमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा नेविसङ्घले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेदेखि सरकारी गाडीमा तोडफोड र आगजनीसमेत गर्दै आएको छ ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्