चीनको सहयोगमा सिरहाका बाढीपीडितले डेढ वर्षपछि पाए राहत
लहान : सिरहा जिल्लाका विभिन्न ठाउँमा करिब डेढ वर्षअघिको बाढीबाट प्रभावित परिवारलाई राहतस्वरुप घरायसी प्रयोजनका सामग्री वितरण थालिएको छ । बाढीपीडित सहयोग कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी सिरहाले गणतन्त्र चीनको सहयोगमा संयुक्त राष्ट्र संघीय विकास कोषमार्फत प्राप्त सात किसिमका घरायसी प्रयोजनका सामग्री बाढी प्रभावितहरुलाई वितरण थालेको हो ।
सिरहा रेडक्रसले आइतबार सिरहाको दक्षिणवर्ती सखुवानन्कारकट्टी, भगवानपुर र नवराजपुरका गाउँपालिका क्षेत्रका पाँच सय ६४ बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको जिल्ला कार्यक्रम कार्यक्रम प्रबन्धक अशोक यादवले बताए ।
जिल्ला कार्यक्रम प्रबन्धक यादवका अनुसार राहत तीनवटै गाउँपालिका क्षेत्रका बाढीपीडित परिवारलाई राहतस्वरुप तीन थान कम्बल, दुई थान बर्को, एक थान तन्ना, एक थान फलामे चुलो, २० लिटर क्षमताको फिल्टर, दुई थान सुपानेट झुल र ढक्कनसहितको एक थान बाल्टिन वितरण गरिएको छ ।
सखुवानन्कारकट्टीको खयरबोना, भगवानपुरको भगवानपुर बजार र नवराजपुरको सोनवर्षामा राहत सामग्री वितरण गरिएको हो । रेडक्रसले आइतबार सखुवानन्कारकट्टीका तीन सय ५२, भगवानपुर गाउँपालिका ८९ र नवराजपुर गाउँपालिका क्षेत्रका एक सय २३ परिवार बाढी पीडितहरुलाई सात किसिमका राहत सामग्री वितरण गरेको जिल्ला कार्यक्रम प्रबन्धक यादवले उल्लेख गरे ।
४ हजार परिवारलाई राहत दिइँदै सिरहा रेडक्रसले २०७४ सालको साउनमा आएको बाढीबाट प्रभावित जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रमाणित गरिएका ४ हजार परिवारलाई राहत सामग्री बाँड्दै छ । सखुवानन्कारकट्टीबाट थालिएको राहत वितरण माघ १९ गतेसम्म चल्ने र चार हजार परिवारलाई राहत सामग्री दिइने कार्यक्रम प्रबन्धक यादवले बताए ।
उनका अनुसार बाढीबाट अति प्रभावितहरुलाई समितिले त्यही बेला राहत दिएको भएपनि छुटेका परिवारलाई स्रोत जुटाएर डेढ वर्षपछि राहत दिइएको हो ।