गर्भपतन गराउन १७ देखि २० वर्षका किशोरीहरुको संख्या बढ्दै
दाङ : दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि माघ १३ गतेसम्म १४५ जना महिलाले निःशुल्क रुपमा सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १७ वर्षदेखि २० वर्षसम्मका ५५ जना अरु २० वर्षमाथिका रहेको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर रेकर्डर दुर्गा रेग्मीले जानकारी दिएका छन् ।
सुरक्षित गर्भपतन गराउनेमा केही अविवाहित पनि रहेका छन् । त्यसैगरी गत वर्ष सो अस्पतालबाट १ हजार ४८ जना महिलाले सुरक्षित गर्भपतन गराएका थिए । २० वर्षमुनिका ५९ जना, २० वर्षमाथिका ९८९ जना महिलाले निःशुल्क रुपमा गर्भपतन गराएका थिए ।
सबैभन्दा बढी दाङ, केही सल्यान, रुकुम र रोल्पा जिल्लाका पनि रहेका छन् । अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउनेले आफूलाई चिन्ने डरले केहीले आफ्नो ठेगाना समेत ढाट्ने गरेको पाएको छ ।
अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सक विनोद सिंहले सरकारी मान्यता प्राप्त अस्पतालमा गएर सुरक्षित गर्भपतन गराउन सल्लाह दिन्छन् । उनी भन्छन्, “अस्पतालमा गर्भपतन गराउँदा सबैले देख्ने र चिन्ने डरले केहीले सरकारले गर्भपतनको लागि कानूनी मान्यता नदिएको ठाउँमा गएर धेरै पैसा खर्च गरी असुरक्षित गर्भपतन गराइरहेका छन् ।”
असुरक्षित गर्भपतनले महिलाको ज्यानसमेत जानसक्ने, स्वास्थ्यमा समेत जोखिम पुर्याउने भएकाले सरकारले कानूनी मान्यता दिएका स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन गराउनुपर्ने बताए । चिकित्सक विनोद सिंहले प्रत्येक महीनामा ४५ जनाभन्दा बढी अन्यत्र गर्भपतन गराएर पेटमा आधा बच्चा तथा अत्यधिक रक्तश्राव हुने गरेका बिरामी उपचारको लागि अस्पतालमा आउने गर्छन् भने।
गर्भपतन गराउनुभन्दा परिवार नियोजनका साधनको प्रयोग गर्नु स्वास्थ्यका लागि पनि राम्रो हुने उनको भनाइ छ । अहिले परिवार नियोजनका साधन अविवाहितका लागि पनि अस्पतालमा निःशुल्क पाइन्छ । अविवाहितले पटकपटक गर्भपतन गराउँदा पछि बच्चा नहुनेसमेत उनले बताए ।
चिकित्सक सिंहले अस्पतालले ८ देखि १२ हप्तासम्मको गर्भ महिलाको इच्छाअनुसार तोकिएको मापदण्डअनुसार औजारको सहायताले गर्भपतन गराउने गरेको बताए । त्यस्तै १२ हप्तादेखि १८ हप्तासम्मको भने बलात्कार, हाडनाता करणी र आमाको गर्भका कारण ज्यान नै खतरामा पर्ने प्रमाणित भएमा मात्र गर्भपतन गरिने कानूनी मान्यता रहेको छ ।
दाङमा सुरक्षित गर्भपतनको मान्यता राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, मेरी स्टोप्स् सेन्टर तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ, नेपाल परिवार नियोजन सङ्घ दाङलगायतका स्वास्थ्य संस्थाले पाएका छन् ।