Logo
४ मंसिर २०८१, मंगलबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतक परिवर्तनका लागि डा.गोविन्द केसीलाई आगामी चुनावमा उम्मेदवार बन्न आग्रह (खुलापत्र)

आदरणीय डा गोविन्द केसीज्यू 

तपाईंले विगतमा गर्नुभएको अनसनप्रति म कहिल्यै नकारात्मक थिइन । अहिलेको अनसनप्रति पनि म नकारात्मक छुइन । देश र समाजको भलाईको कुरा आउँदा म पार्टीगत धारणामा मात्र बाँधिन सक्दिन । त्यही भएकाले मैले भन्ने गरेकी छु– देश र समाजका लागि पार्टीभन्दा माथि उठौं । जहिले पनि पार्टीभन्दा देश माथि हुन्छ भन्ने मेरो दृढ विश्वाश रहिआएको छ ।

डाक्टरसाब, तपाईं व्यक्तिगत लाभहानी र स्वार्थभन्दा माथि उठेर सोच्नुहुन्छ भन्ने सुनेकी छु । म सांसद पदमा छु । मेरा पनि वरिपरी निजी स्वार्थका लागि लागिपरेकाहरु आइपुग्छन्, तिनलाई पहिचान गर्ने प्रयास गर्छु । को मानिस देश र समाजको भलाइका लागि मेरो उपयोग गर्न चाहन्छन् । को निजी हितमा मेरो उपयोग गर्न चाहन्छन् भन्ने ठम्याउन नसकेर म कतिपय ठाउँमा अप्ठेरोमा पनि परेकी छु । शायद तपाईंलाई पनि यस्तो अप्ठेरो धेरै पटक आइलागेको हुनसक्छ । अहिले तपाईं यस्तै अफ्ठेरोमा फस्नुभएको छ कि भन्ने मलाई लाग्दैछ ।

तर डाक्टरसाब, समाजको भलाईका लागि लागिपरेका हामीले कठोर बन्नैपर्छ । आफ्नो वरिपरी कस्ता मानिस आउँछन् भनी होसियार हुनैपर्छ । किनभने हामी खासखास व्यक्तिको भलाईका लागि नभएर देश र समाजको भलाईका लागि लागिपरेका हौं । समाजको अगुवा हौं भन्ने हामीले क्षुद्र स्वार्थभन्दा माथि उठ्नैपर्छ । नत्र यो देश बन्दैन डाक्टरसाहेब ।

समितिमा पारित भएको चिकित्सा शिक्षा विधेयकको तपाईंले विरोध गर्नुहुँदा भने म असाध्यै दुःखी भएँ । विरोध गर्नुहुन्छ भन्ने मलाई पटक्कै लागेको थिएन । किन विरोध गर्नुभयो भनी सोध्न म तपाईं भए ठाउँ त आइनँ तर आफ्नै मनलाई सोधें । मेरो मनले के भन्यो भने मानिसले आफ्नो वरिपरि भएका मानिसहरुलाई ध्यानमा राखेर पनि निर्णय गर्न वाध्य हुनुपर्छ । तपाईंलाई पनि त्यस्तै भएको हुनसक्छ । यही कारण हामीले आफू वरिपरि कस्ता मानिस छन् भनी होस पुराउनुपर्छ भनेर माथि लेखेकी हूँ ।

प्रतिनिधिसभामा विधेयक पारित गरिरहँदा म भावुक भएँ । कांग्रेसका सांसद मित्रहरुले वैठकमा अवरोध गरिरहनुभएको थियो । हाम्रा लागि वैठकमा अवरोध, नारावाजी सामान्य कुरा हो । सधैं भइरहन्छ, वर्षाैंदेखि यस्तै भइरहेको छ । शुक्रवार पनि अवरोध बीच विधेयक पारित भयो । म किन भावुक बनेकी थिएँ भने समितिबाट विधेयक पारित हुँदा अब तपाईंले कहिल्यै अनसन बस्न पर्दैन भन्ने दृढ विश्वाश थियो, समितिमा रहनुभएका सांसद साथीहरुले पनि यही विश्वाश प्रकट गरिरहनुभएको थियो ।

कांग्रेसका सांसद साथीहरुले चाहिँ विधेयकको विरोध गर्नुभयो । यसमा म डाक्टरसाबलाई के जानकारी गराउँ भने हामीले कस्तो संसदीय परम्परा बसायौं भने सत्तापक्षले जे काम गरे पनि प्रतिपक्षले विरोध गर्नैपर्ने । त्यसैले तपाईंकै मागमा आधारित भएको विधेयक भए पनि कांग्रेसका सांसद साथीहरुले विरोध गर्दा मैले अन्यथा ठानिन ।

डाक्टरसाब,

म जे लेखिरहेकी छु नकारात्मक भएर लेखिरहेकी छुइन । यो लेखिरहँदा म भित्र नकारात्मक भाव पटक्कै छैन । आफूभित्र नकारात्मक भाव आउँछ कि भनेर म जहिले पनि सचेत भइरहन्छु । पारित भएको विधेयकमा तपाईंको शतप्रतिशत माग पूरा भएको छैन भन्ने म पनि मान्छु । शतप्रतिशत माग पूरा हुने अपेक्षा गर्न हुँदैन डाक्टरसाब । म आफै सांसद हूँ, म जे चाहन्छु त्यो संसदले पारित गरिदिँदैन । संसदको नेता तथा प्रधानमन्त्री केपी ओली हुनुहुन्छ, उहाँले चाहेको शतप्रतिशत कुरा संसदबाट पारित हुन सक्दैन ।

नेपालमा कुनै पनि प्रधानमन्त्रीले चाहेको संसदले शतप्रतिशत मानेर पारित गरेको छैन । सभामुख हुनुहुन्छ कृष्णबहादुर महरा । उहाँले जे चाहनुहुन्छ संसदबाट त्यो पारित हुँदैन । संसद भनेको जनप्रतिनिधिहरुको थलो हो । संसदले यो देशका सम्पूर्ण जनताको प्रतिनिधित्व गर्छ । यस्तो ठाउँमा म शान्ता चौधरीले जे चाहन्छु त्यही पारित हुनुपर्छ भनेर मैले कहिले पनि भनेकी छैन र भविष्यमा पनि भन्ने छुइन । प्रधानमन्त्री केपी ओलीले पनि म जेजे चाहन्छु, संसदले त्यही पारित गर्नैपर्छ भन्न थाल्नुभयो भने गलत हुनेछ । हामी सांसद आफैले भनेको कुरा समेत आफू सदस्य रहेको संसदले पारित गरिदिँदैन, त्यसो भए हामीले पनि मैले भनेको संसदले मान्नैपर्छ भनेर अनसन गर्नु ?

डाक्टरसाब, तपाईं जस्तो विद्धानलाई संसदीय प्रणालीबारेमा धेरै भन्ने घृष्टता गर्दिन । जननिर्वाचित संसदीय प्रणाली तपाईंले बुझ्नुभएको छैन भन्ने म मान्न तयार छैन । पहिले सानातिना असहमति भए पनि प्रतिनिधिसभाले विधेयक पारित गरेपछि जनताले भोट हालेर चयन गरेका प्रतिनिधिहरुले गरेको निर्णय मान्छु भनेर तपाईंले अनसन त्यागेको घोषणा गर्नुहुन्छ भन्ने मलाई दृढ विश्वाश थियो र अझै पनि छ । तर अनसन जारी रहने समाचार पाउँदा मेरो आश्चर्यको सीमा रहेन ।

डाक्टरसाब,

फेरी पनि दोहोर्याउँछु, संसद भनेको यस्तो थलो हो जहाँ कसैले पनि भनेको शतप्रतिशत लागू हुँदैन । संसद भनेको धेरैको विचार र भावना समेट्नुपर्ने ठाउँ हो । तर, तपाईंका अधिकांश विचार, भावना र माग समेटिएको विधेयक पारित भएको छ । कोही एकजना व्यक्तिको माग यति धेरै समेटिएर कुनै विधेयक पारित भएको म पहिलो पटक देख्दैछु । तपाईंको मागको यति धेरै कदर गरिँदा पनि असन्तुष्टि देखाउनु जायज होइन है डाक्टरसाब ।

संसदमा मन्त्रीहरुले आआफ्ना मन्त्रालयसँग सम्बन्धित विधेयक ल्याउँछन्, उनीहरुले चाहे अनुसारको रुपमा विधेयक कहिल्यै पारित हुँदैन । चिकित्सा शिक्षा विधेयक पनि सरकारले चाहे अनुसार पारित भएको छैन, धेरै संशोधन भएको छ ।

डाक्टरसाब,

तपाईं चुनाव लड्न्भएन । चुनाव लडेर सांसद बन्नुभएको थियो भने असाध्यै राम्रो हुने थियो । अनसन बस्न तपाईंलाई निरन्तर र वारम्बार उत्प्रेरित गर्ने मित्रहरुले तपाईंलाई चुनाव लड्ने सुझाव किन दिएनन् भन्ने प्रश्नको जवाफ मैले शायद कहिल्यै पाउँदिन । तर, आउँदो आमचुनावमा तपाईं उम्मेदवार बनेको देख्ने विनम्र आग्रह भने यही पत्र मार्फत् गर्दछु । अहिले तपाईं आफै सांसद हुनुहुन्थ्यो भने पनि आफूले जस्तो चाह्यो त्यस्तो विधेयक पारित गर्न सक्नुहुन्नथ्यो । किनभने संसद भनेको कोही एकजनाले चाहे अनुसारको निर्णय गर्ने थलो होइन र यो सम्भव पनि छैन । तर, तपाईंका लगभग सबै माग पूरा भएको छ ।

अब हामी सामु दुईटा मुख्य चिन्ता छ । पहिलो चिन्ता हो तपाईंको स्वास्थ्यको । दोस्रो चिन्ता हो कसरी प्रभावकारी रुपमा ऐन कार्यान्वयन गर्ने भन्ने ।डाक्टरसाबलाई विनम्र आग्रह छ, यो ऐन कार्यान्वयन गर्न तपाईं हामी मिलेर अगाडि बढौं । देशमा नकारात्मक वातावरण बढ्न नदिउँ, सकारात्मक वातावरण सिर्जना गरौं । यसमा तपाईंको ठूलो योगदान हुनसक्छ । धन्यवाद

(चाैधरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको सचेतक हुन् )

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्