प्रदेश ५ मा भएको गाडी खरिद अनियमितताबारे अख्तियारले थाल्यो छानबिन
बुटवल : प्रदेश ५ सरकार र प्रदेशसभामा खरिद भएका गाडीमा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । आयोगको बुटवलस्थित कार्यालयले प्रदेशसभा र प्रदेश सरकारले खरिद गरेका १७ वटा गाडीको खरिद प्रक्रिया, वास्तविक मूल्य र सरकारले खरिद गर्दा भुक्तान गरेको मूल्यलगायतमा अध्ययन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार अख्तियारले खरिदकर्ताको पक्षबाट भएका सम्झौता र तिनको प्रक्रियाबारेमा अध्ययन थालिएको छ । ‘हामीकहाँ उजुरी परेपछि काजगपत्रहरु मगाएका छौं–उनले भने–हामीले बिस्तृत रुपमा छानबिन गर्नेछौं ।’ प्रदेश सभा सचिवालयले ११ वटा टाटा स्ट्रोमसहित १३ वटा गाडी खरिद गरेको छ भने विभिन्न मन्त्रालयहरुले ४ वटा टाटा स्ट्रोमसहितका गाडी खरिद गरेका छन् ।
प्रदेशसभा र प्रदेश सरकारका लागि खरिद भएका गाडी २२ करोड ७५ लाख ५७ हजार ९ सय ९९ रुपैयाँका रहेका छन् । टाटा स्ट्रोम गाडी प्रदेश सभा र मन्त्रालयले खरिद गर्दा तीनथरि मूल्य देखिएको छ । गाडी खरिदमा अनियमितताको प्रश्न उठेपछि सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गरिरहेको छ ।
कुलप्रसाद पोखरेलको संयोजकत्वमा बनेको उपसमितिले अध्ययनका लागि सदस्य संख्या थप गरेको छ भने म्याद थपेर छानबिन गरिरहेको छ । माघ ६ गते एकहप्तासम्मको अध्ययनको प्रारम्भिक प्रतिवेदन लेखा समितिलाई बुझाउँदै उपसमितिले गाडी खरिदमा १३ वटा प्रश्न उठाउँदै खरिदको प्रक्रिया पूरा भएपनि नियतमा शंका देखिएको बताएको थियो ।