Logo
८ माघ २०८१, मंगलबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षा विधेयक पारित : डा केसीले अब आन्दोलन गर्नुपर्दैन, उनका राजनीतिक मुद्दा सरकारले जिम्मा नलिने

काठमाडौं : चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अब डा. गोविन्द केसीले अनशन तोड्नुपर्ने बताएका छन् ।

संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले २०६९ सालदेखि चिकित्सा शिक्षा सुधारमा उठ्दै आएको आवाजलाई यो विधेयकले सम्बोधन गर्न सफल भएको पनि जिकिर गरे ।

‘पटक-पटक हामीले ऐन बनाएर सुधारको प्रक्रियामा लैजान कोशिश गरेका थियौँ, विधेयक औपचारिक रुपमा पास भएसँगै अब सुधारको काम सुरु भयो’, पोखरेलले भने, ‘राष्ट्रिय सभामा गएपछि पास भएर यसले ऐनको स्वरुप लिन्छ ।’

वैशाखमा नयाँ शैक्षिक सत्र हुने भएकाले डा. केसीका अधिकांश माग सम्बोधन गर्दै विधेयक पारित गरिएको पोखरेलले बताए । ‘वैशाखमा मेडिकल कलेजले इन्ट्रान्स परीक्षा लिनुपर्ने हुन्छ, अब शुल्कसहितका कुरा कार्यान्वयन हुनुपर्छ’, उनले भने, ‘प्रक्रियागतरुपमा हामी सही छौँ । डाक्टर केसी र चिकित्सा शिक्षा सुधारमा लागेको आवाज यस विधेयकले सर्वाधिक समेटेको छ ।’

मन्त्री पोखरेलले अबको १० वर्षभित्र चिकित्सा शिक्षालाई गैरनाफामा लाने ढोका यो विधेयक पास भएसँगै खुलेको पनि दाबी गरे । ‘चिकित्सा शिक्षा सुधारको प्रयत्नका लागि डा. केसीलाई पनि धन्यवाद दिन्छु’, उनले भने, ‘विधेयक संसदको प्रक्रियामा गएको सन्दर्भमा यसको गरिमा र पद्धतलिाई सम्मान गर्दै उहाँले अनशन फिर्ता लिनुपर्छ ।’

मन्त्री पोखरेलले डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका मुद्दाको मात्रै आफूले जिम्मा लिने स्पष्ट पारे । ‘डाक्टर केसीले उठाएका चिकित्सा शिक्षा सुधारका मुद्दाको जिम्मा लिन तयार छु’, उनले भने, ‘केसीले उठाएका राजनीतिक मुद्दाको जिम्मा लिन सक्दिनँ, । सरकार उहाँसँग वार्ताका लागि सदैव तयार छ ।’

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भएको प्रतिक्रिया दिएका छन् ।

विधेयक पारित भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब चिकित्सा शिक्षालाई लिएर डा गोविन्द केसीले कहिल्यै कठोर आन्दोलन गर्नुनपर्ने बताए। ‘अब डा केसीको आन्दोलनमाथि राजनीति गर्नेका दिन गए’, उनले भने ।

विधेयक पारित भएसँगै चिकित्सा शिक्षा सुधारका लागि आन्दोलन गर्ने विद्यार्थी संगठन, शैक्षिक अगुवा, पटक पटक अनसन बस्दै आएका डा गोविन्द केसीको मागलाई सम्बोधन गरेको उनको दाबी छ ।

‘चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भएको छ । विकृतिलाई सदाका लागि अन्त्य गरेको छ । यो विधेयक नेपालको चिकित्सा शिक्षा क्षेत्रमा क्रान्तिकारी फड्को हुनेछ’, उनले भने ।

उनले डा केसीको सत्याग्रहको जित भएको टिप्पणी गर्दै सत्याग्रहबाट निस्कन आग्रह गरे । ‘जनता, विद्यार्थी, व्यापारीलाई नाफा भएको छ, सबै नेपालीको जित छ’, उनले भने, ‘तर यो विधेयक पास हुँदा विदेशी व्यापारीलाई घाटा भयो ।’

भट्टराईले संसदमा कांग्रेसको विरोधलाई आफूहरुले सम्मान गर्ने र त्यो संसदीय अधिकार कुरा भएको भन्दै गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल सरकारले नै सञ्चालन गर्ने दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि यसबारेमा छलफल हुने उनको भनाई छ। ‘तनहुँ र बाँकेका दुबै अस्पताल सरकारले सञ्चालन गर्छ, प्रधानमन्त्री आएपछि छलफल हुन्छ’, उनले भने ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्