बढ्दो हिमपात : यात्रुहरु बीच बाटोमै अलपत्र, डोजरको सहायताले हिउँ पन्छाउँदै
बैतडी : लगातारको हिमपातले बैतडी, बझाङ र डडेल्धुराका राजमार्गहरु दुई दिनदेखि अवरुद्ध छन्। मंगलबारदेखि निरन्तर भएको हिमपात हुँदा सडकमा बाक्लो हिउँ जमेको छ। हिउँ जमेकाले दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग र भिमदत्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बैतडीको अनारखोली, खोडपे, डडेल्धुराको भालुमारे, हगुल्टे साहुँखर्क र बझाङको देउलेक, बित्थडलगायतका क्षेत्रका सडकमा चार फिटसम्म हिउँ जमेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।
राजमार्ग अवरुद्ध हुँदा सवारी साधन चल्न सकेका छैनन् । पहाडवाट तराई र तराईवाट पहाड आउने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । राजमार्ग सञ्चालनका लागि बैतडी र डडेल्धुरामा डोजरको सहायताले हिउँ पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । हिउँ पन्छाउन अझै केही घण्टा लाग्ने प्रहरीले बताएको छ ।
विद्युत् अवरुद्ध सोमवार राति गएको हावाहुरी र हिमपातले बैतडीमा चार दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरी र हिमपातले बैतडीको खोडपे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा रहेका तार टुटेकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।
लगातार हिमपात र वर्षा भइरहेकाले मर्मत गर्न समस्या भएको केन्द्रले जनाएको छ । विद्युत सेवा अवरुद्घ हुँदा सो क्षेत्रका अहिले नागरिक सञ्चारविहीन भएका छन् ।