प्रहरीद्वारा अहिले सम्म ८ को इन्कान्टर, चरीदेखि चौधरीसम्म
काठमाडौं : गोंगबुमा मंगलबार साँझ प्रहरीले गोली हानेर एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोली हानेर काभ्रेका अभिलाश तामाङलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सुन लुट्ने समूह हतियार सहित गोंगबुमा रहेको छ भन्ने सूचनाको आधारमा खोजतलास गर्न जाँदा तामाङलाई शंका लागेर नियन्त्रमा लिन खोज्दा प्रहरीमाथि नै जाइलागेपछि उनीमाथि गोली चलाइएको थियो । तामाङको खुट्टामा गोली लागेको छ । हाल उनको उपचार भइरहेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी वशन्त लामाका अनुसार उनको साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको छ । त्यसैगरी बुधबार बिहानै प्रदेश-२ सप्तरीको रुपनी गाउँपालिका अन्तर्गत रुपनी-राजविराज सडक खण्डमा प्रहरीको इनकाउन्टरमा एक जना मारिएका छन् । मारिनेमा सप्तरीको सुरुङ्गा नगरपालिका कडरबोनाका ३० वर्षीय दिपेन्द्र चौधरी रहेका छन् ।
आज बिहान साढे ४ बजेतिर चौधरीलाई नियन्त्रमा लिन खोज्दा प्रहरी माथि नै गोली चलाएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा उनी मारिएको प्रहरीको भनाइ छ । प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा मारिएका चौधरी २०७२ सालमा सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्यामा संलग्न रहेको प्रहरीको दाबी छ ।
चौधरी इलाका प्रहरी कार्यालय कडरबोनाको गस्तीमा रहेको भ्यानलाई लक्षित गरी २०७४ साउन २१ गते राति सुरुङ्गा नगरपालिका ५ श्रीपुर गाउँमा बम विस्फोटलगायतका घटनामा संलग्न रहनुका साथै सप्तरीको बिसनपुर चोकमा ड्युटीमा रहेका प्रहरी हवल्दारमाथि गोली प्रहार गर्ने घटनामा समेत संलग्न रहेको प्रहरी उपरीक्षक विष्टले बताए ।
तराईको सशस्त्र समूह गोइत समूहको पूर्व कार्यकर्ता रहेका चौधरीले आफ्नै समूह बनाएर चन्दा असुलीलगायत भूमिगत गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ । चरीबाट सुरु भएको थियो इनकान्ट श्रृंखला नेपालमा गुन्डागर्दी गर्नेलाई प्रहरीले इनकाउन्टरको नाममा धमाधम मार्ने रणनीति नै लिएको छ ।
यसको सुरुवात हालका प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्कीले गरेका थिए । चरीको नाममा चर्चित गुन्डा नाइके दिनेश अधिकारी २१ साउन ०७१ मा मारिएका थिए । त्यतिबेला एसएसपीको रुपमा कार्की अपराध महाशाखाको प्रमुख थिए । महानगरीय प्रहरीको अपराध महाशाखाको टोलीसँग काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा दोहोरो फायरिङ हुँदा उनी मारिएका थिए । उनीमाथि प्रहरीले ८ राउण्ड गोली प्रहार गरेको थियो ।
त्यस्तै ३ भदौ ०७३ मा अर्का गुन्डा नाइके भनेर चिनिएका कुमार श्रेष्ठ घैंटे मारिए । काठमाडौंको सामाखुसीमा रहेको आफ्नो घर नजिकै प्रहरीसँगको मुठभेडमा उनी मारिएका थिए । यही श्रृंखला अन्तर्गत ०७४ मा अर्का गुन्डा नाइके भनेर चिनिएका रुपन्देहीका मनोज पुन र उनका सहयोगी भैरहवाका सोम आले प्रहरीको इन्काउन्टरमा मारिएका थिए ।
उनलाई तीन दिनअघि भारतको गोवाबाट प्रहरीले पक्राउ गरेर नेपाल ल्याएर हत्या गरेको र प्रहरीले इकाउन्टरको हवला दिएको आरोप प्रहरीमाथि लागेको थियो ।
त्यसैगरी ०७५ साउनमा ११ वर्षीय बालक निशान खड्का अपहरण पछि हत्या गर्ने अजय तामाङ र गोपाल तामाङको प्रहरी इनकान्टरमा ज्यान गएको थियो ।इनकान्टरुमाथि शंकै शंका पछिल्लो समय प्रहरीका इन्काउन्टरमा सर्वसाधारणले शंका गरिरहेका छन् । फेक इन्काउन्टर गरेर सर्वसाधारणलाई मार्ने काम भएको भन्दै राजनीतिक दलका नेताहरूलेसमेत विरोध जनाउँदै आएका थिए ।