जापानका भवन : बलियोपनको रहस्य बनोटमा, यस कारण थेग्न सक्छन् ठूला भूकम्प
टोकियो : जापानका भवनहरू विश्वमै सबैभन्दा बलिया भवनहरूमा गनिने जापानका भवनहरुको बलियोपनको रहस्य बनोटमा छ । त्यहाँ घर बनाइँदा घर उभिएको जमिन थर्किरहँदा, घरलाई नाच्ने गरी निर्माण गरिन्छ ।
टोकियो, ओसाका र योकोहामा सहरमा गगनचुम्बी भवनको अधिपत्य देखिन्छ । यी टावरहरूले विश्वका अन्य ठूला र विकसित सहरमा झैँ त्यहाँको दैनिक जीवनको स्थिर पृष्ठभूमिको काम गर्छ । मानिस र ट्राफिकहरू सहरमा चलायमान हुँदा ती भने स्थिर रहन्छन् । यिनले व्यस्त सहरलाई बाँधेर राख्ने किलोको जस्तो काम गर्छ ।
तर भूकम्प आउँदा यो बुझाइ झुटो सावित हुन्छ । किनकि जापानमा गगनचुम्बी भवनहरू भूकम्पको समयमा एक खालको नाच देखाउँछन् । सन् २०११ को तोकोहु भूकम्पलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा ध्वंशात्मक भूकम्प मानिन्छ । तर यो जापानलाई धक्का दिने धेरै भूकम्पीय घटनाहरूमध्ये एक थियो ।
जापानको द्विपमाला प्रशान्तीय आगोको वृत्त (रिङ अफ फायर) भनिने क्षेत्रमाथि बसेको छ । यो क्षेत्रमा आएर युरेसिया, फिलिपिन्स र प्रशान्तीय तीन टेक्टोनिक प्लेटहरू जोडिएका छन् । प्लेटहरू जोडिएको स्थानमा एउटा प्लेटले अर्को प्लेटमुनि ठूलो बल लगाइरहेको हुन्छ । यसले गर्दा त्यहाँ असाधरण दबाब जम्मा भएर बस्छ । भूकम्प भनेको त्यो दबाब बाहिर निस्किने प्रक्रिया हो । यो प्राकृति प्रकोपमा कुनै ऐरे गैरे सहरलाई धुलोमा मिलाउने सामाथ्र्य हुन्छ ।
तर जापानका टावर ब्लकहरू भने साधारण भवनहरू होइनन् । साना ठूला सबै भवनहरूले देशमा आउने भूकम्पहरू थेग्न सक्नुपर्छ । इन्जिनियरहरू मुख्य दुई तहको सुदृढतामा काम गरिरहेका हुन्छन् । पहिलो तहमा साना भूकम्पलाई कसरी थेग्ने भन्नेमा केन्द्रित भइन्छ । जापानका एक घरले आफ्नो जीवनकालमा तीन, चारवटा भूकम्प भोग्छन् ।
साना म्याग्निच्युटका भूकम्पले पार्ने कुनै पनि क्षतिलाई त्यहाँ स्वीकार्य हुँदैन । भवनहरू यति राम्ररी डिजाइन गरिएको हुनुपर्छ भूकम्पहरूले तिनमा सामान्य क्षति पनि पारेको हुुनुहुँदैन । दोस्रो तहको मजबुतीअन्तर्गत विषम खालका भूकम्पलाई थेग्नेमा केन्द्रित भइन्छ । यस्ता भूकम्प थोरै मात्र हुन्छन् ।
भूकम्प प्रतिरोधी भवनको गुणस्तर स्तर सन् १९२३ मा आएको कान्टो भूकम्पपछि निर्धारण गरिएको हो । त्यो वर्ष ७।९ म्याग्निच्युडको ठूलो भूकम्प आएको थियो । उक्त भूकम्पले टोकियो र योकोहामामा निक्कै ठूलो क्षति पु¥याएको थियो, जसका कारण १,४०,००० मानिस मारिए ।
एक भूकम्पको असधारण शक्तिलाई थेग्नका लागि भूकम्पले जति सक्दो धेरै भूकम्पीय ऊर्जालाई सोस्नुपर्छ । “संरचनाले भूकम्पबाट आएको सबै ऊर्जालाई सोस्यो भने, त्यो ढल्ने डर हुँदैन,” सातोले भने ।
यो मुख्यता ‘सिस्मिक आइसोलेसन’ भन्ने प्रक्रियामार्फत हुन्छ । भूकम्पको धक्कालाई प्रतिरोध गर्नका लागि भवन अथवा संरचनालाई धक्का सोस्ने संरचनामाथि राखिन्छ । कहिलेकाहीँ यो ३०–५० सेन्टिमिटर बाक्लो रबरको ब्यान्डेज मात्रैले पनि काम गर्छ ।
जगमा आउने भवनका खम्बाहरू यिनै रबरको प्याडमाथि बस्छन् । यसले गर्दा भवनको माथिल्लो ढाँचा हल्लिँदा रबरका यी सस्पेन्सनले ती झट्कालाई थेगेर भवनलाई ढल्न दिँदैनन् । भूकम्प थेग्ने घर बनाउने सबैभन्दा प्रमुख तरिका भनेको भवनलाई त्यसको आधारसँग समायोजन हुन्छ । यसका अतिरिक्त घरको विभिन्न उचाइहरूमा चाल ठ्याम्परको प्रयोगले पनि भवनको मजबुती बढाउँछ ।
ठ्याम्पर हेर्दा ठ्याक्कै साइकलको पम्प जस्तो हुन्छ । पम्प दबाउँदा हावा निस्केको जस्तै यी ड्याम्पर्सको प्रयोग हावाको दबाब सहनका लागि हुन्छ । यसले भवनमा लाग्ने झट्का कम लाग्छ । “एक अग्लो भवन ५ फिटसम्म सर्न सक्छ तर निश्चित उचाइमा हामीले ठ्याम्पर प्रयोग गर्यौं भने यसलाई निक्कै कम मात्रामा न्यूनीकरण गर्न सकिन्छ । यसका लागि ठ्याम्परलाई दोस्रो तल्लादेखि माथिसम्म लगाइन्छ,” लुब्कोस्कीले भने ।
भूकम्पको ऊर्जालाई सोस्नु र कम्पनलाई कम गर्ने जटिल उपकरणहरूको प्रयोग मात्र भवनलाई भूकम्प प्रतिरोधी बनाउने विकल्प होइनन् । अन्य विकल्पहरूमा भवनको रूपरेखा र डिजाइन आफै पनि पर्छ । “सैद्धान्तिक रूपमा हामी भवनलाई सकेसम्म समान बनाउन चाहन्छौँ,” लुब्कोवस्कीले भने, “यदि भवनको प्रत्येक तल्ला ठ्याक्कै उही उचाइका छन् र सबै कोलम ग्रिडिङ स्पेसिङ समान खालका छन् । भूकम्पको बेला भवनमा त्यति धेरै क्षति पुग्दैन ।”
तर आकर्षक गगनचुम्मी भवनका डिजाइनरहरू यी मापदण्ड एक एक पूरा गरेर घरको सौन्दर्यसँग सम्झौता गर्न चाहँदैनन् । यस कारण इन्जिनियरहरूले पालना गर्ने भूकम्पीय मापदण्ड र आर्किटेक्टको सिर्जनात्मक कल्पनाबीच तनाव उत्पन्न हुन्छ ।
‘हामीहरूबीच सबै द्वन्द हुन्छ’, टोकियोमा रहेको फर्म इजिरी स्ट्रक्चरल इन्जिनियर्सका निर्देशक नोरिहिरो इजिरिले भने, “सौभाग्यवश जापानका आर्किटेक्टहरू भूकम्पबारे शिक्षित छन्, त्यसैले इन्जिनियर र डिजाइनरहरू यसबारेमा छलफल गर्छन् र एउटा टुङ्गोमा पुग्छन् ।”
टोकियोमा रहेको स्काइट्री टावर विश्वको दोस्रो सबैभन्दा अग्लो संरचना हो । ‘नव भविष्यवादी’ शैलीमा निर्माण गरिएको उक्त भवनमा परम्परागत जापानी प्यागोडाका केही तत्वहरू पनि समाहित गरिएको छ । यसमा एउटा केन्द्रीय पिल्लर पनि छ, जसलाई भूकम्पीय ठ्याम्परसँग जोडिएको छ । यसले भूकम्पको ऊर्जालाई सोस्छ ।