चितवनका लोकप्रिय कांग्रेस नेता तीर्थ भुषालसहित दर्जनौं नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश
काठमाडौं : नेपाली कांग्रेसका पूर्व सांसद सहित दर्जनौं नेता तथा कार्यकर्ताहरु कांग्रेस त्यागेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । चितवनबाट निर्वाचित पूर्व सांसद तथा लोकप्रिय नेता तीर्थ भुषालसहित नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरुको समूह नेकपामा प्रवेश गरेको हो ।
शनिबार पार्टी मुख्यालयमा पूर्व सांसद भूषालसहितका कांग्रेसका नेताहरुलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वागत गरेका छन् ।
भुषाल ०५१ को प्रतिनिधिसभामा वामपन्थीहरुको गढ मानिने चितवन क्षेत्र नं ४ बाट निर्वाचित सांसद समेत हुन् । उनी ०४९ सालमा कांग्रेस चितवनको सभापति थिए ।
भुषाल चितवन कांग्रेसका पुराना नेताहरुमध्येमा पर्छन् । उनी ‘राप्ति पुल’ निर्माण पहलकर्ताका रुपमा समेत चितवन र माडीमा लोकप्रिय छन् । नेकपामा प्रवेश गर्दै नेता भुषालले अब सबै नेकपामा गोलबन्द भएर मुलुकको समृद्धिमा लाग्नुपर्ने उनको भनाई ।
पार्टी प्रवेश कार्यक्रममा पार्टी महासचिव बिष्णु पौडेल, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल, स्थायी कमिटि सदस्य तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटि सदस्य योगेश भट्टराई लगायतका नेताहरु उपस्थीत थिए ।