Logo
११ पुस २०८१, बिहीबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटापनि बैठक नबस्दै सक्यो महतोको कार्यकाल, अब महेन्द्रराय यादव राजपाको संयोजक बन्दै

काठमाडौं : राष्ट्रिय स्तरका मान्यता प्राप्त तेस्रो ठुलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका संयोजक पुनः फेरिने भएको छ । दुई दुई महिनाको हनुने चक्रीय प्रणाली अनुसार अध्यक्षमण्डलको संयोजक परिवर्तन हुन लागिएको हो । अब भने महेन्द्रराय यादव संयोजक हुने भएका छन् ।

शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर महेन्द्रराय यादवलाई संयोजक सुम्पिने बताइएको छ । महेन्द्रराय यादव हाल उपचारका लागि दिल्ली गएका छन् । उनी उपचार गरेर फर्केपछि भोलि बैठक बस्ने पार्टीका एकजना महासचिवले जानकारी गराए ।

दुई-दुई महिनामा अध्यक्षमण्डलको संयोजक फेर्ने पार्टी विधानमा रहेको प्रावधानलाई लागू गर्ने भनेर नै महतो पछि महेन्द्र राय यादव संयोजक बन्न लागेका हुन् । राजेन्द्र महतो संयोजक बनेपछि नियम अनुसारले औपचारिक रुपमा एकपटकसम्म पनि बैठक बस्न नसकेपनि निर्वाचित सांसद रेशम चौधरीको सपथग्रहण भने उनकै कार्यकालमा भएको छ ।

निकै लामो प्रयासपछि एक दिन बैठक बसेपनि उक्त बैठकलाई अनिल झाले भने बहिष्कार गरेका थिए । २०७४ वैशाखमा राजपा नेपाल गठन हुँदा महन्थ ठाकुरलाई अध्यक्षमण्डलको संयोजक बनाइएको थियो । तर महाधिवेशनसम्म संयोजक नफेर्ने भन्दै आपसी सहमतिका आधारमा ठाकुरलाई नै संयोजकमा नियमित गरेको थियो तर मङ्सिर ४ गते अध्यक्षमण्डलको बैठक बसेर ठाकुरलाई सो पदबाट हटाएर राजेन्द्र महतोलाई बनाएको थियो ।

ठाकुरलाई हटाएर राजेन्द्र महतो संयोजक बनेपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । ठाकुर पक्षले जवजस्ती हटाएको भनी दाबी गर्दै आएको थियो । यता, ठाकुर संयोजक रहेको अवस्थामा पार्टीमा जथाभावीगरेको कारण हटाएको दाबी महतो पक्षले गरेको छ ।

यसैगरी, राजपा नेपालले लक्ष्मण थारुको मुद्दालाई पनि उठाउने भएको छ । त्यस्तै विजयकुमार गच्छदार तत्कालिन अध्यक्ष रहेको लोकतान्त्रिक फोरमका नेता रहेका थारु कैलाली टीकापुर घटनाको आरोपमा उनी जेलमा छन् । उनको पार्टी काँग्रेससँग एकीकरण गरिसकेको छ । एकीकरण गरे पनि उनको रिहाइका लागि कुनै पनि गतिविधि गरेको छैन ।

उनी जेलमा हुँदा नै राजपा निकट भएका छन् । त्यसरी राजपा निकट भएपछि सो पार्टीका नेता महन्थ ठाकुर उनलाई भेट्नका लागि जेलसम्म पुगेका थिए । अहिले रेशम चौधरीको जस्तै लक्ष्मण थारुको मुद्दालाई पनि जोडदार रूपमा उठाउने निर्णय भोलि बस्ने अध्यक्षमण्डलको बैठकबाट गर्न लागिएको बताइएको छ ।

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्