चीनले बनायो भूकम्प पूर्वसचेतना प्रविधि, झट्का आउनभन्दा अघि नै रेडियो, टिभी, मोबाइलले दिन्छ सूचना
चीनले भूकम्प पूर्वसचेतना प्रविधि प्रणाली विकास गरेको छ । उसको दक्षिण-पश्चिम प्रान्त सिचुवानको राजधानी चेङदुमा यो आविष्कारको एक वर्षअघि परीक्षण पनि गरिसकिएको छ । यसका लागि रेडियो, टिभी, मोबाइलजस्ता धेरैवटा प्रसारण प्रणालीहरूको उपभोग गरेर भूकम्प धक्का आउनु केही सेकेन्डअघि नागरिकहरूलाई भूकम्प आउन लागेको चेतावनी दिन्छ ।
“भूकम्प आउनुअघि दिइने चेतावनी भूकम्पको भविष्यवाणी होइन,” ‘सिचुवान प्रोभिन्सकी ल्याब्रोटरी’ तथा ‘चेङ्दु उच्च-प्रविधि प्रकोप न्यूनीकरण इन्स्टिच्युट’का प्रमुख वाङ टुनले भने । यसबारे थप बताउँदै वाङ्ले भने, “रेडियो तरङ्ग सिस्मिक (भूकम्पीय) तरङ्गभन्दा छिटो प्रसारण हुन्छ भन्ने सिद्धान्त प्रयोग गरेर यसले भूकम्पको धक्का आउनुअघि नै मानिसहरूलाई सुरक्षित हुन केही सेकेन्ड समय दिन्छ । यो प्रविधिमा भूकम्पको केन्द्रबाट तपाईं बस्ने क्षेत्र जति टाढा छ, तपाईंसँग उति नै बढी समय हुन्छ ।”
भूकम्पको पूर्व जानकारीले हुने फाइदा
अनुसन्धानहरूले भूकम्प आउनु ३ सेकेन्ड अघि थाहा पाइएमा हताहती सङ्ख्या १४ प्रतिशतले घटाउन सकिन्छ भन्ने देखाएको छ । त्यस्तै १० सेकेन्डअघि थाहा हुँदा ३९ प्रतिशत घट्छ भने २० सेकेन्डअघि थाहा हुँदा हताहती सङ्ख्या ६३ प्रतिशतले घटाउन सहयोग गर्छ ।
रासायनिक, आणविक उद्योगदेखि तीव्र गतिको रेलमार्ग र सहरी भूमिगत रेल सञ्जालजस्ता अत्यन्त संवेदनशील क्षेत्रमा भूकम्प आउनुअघिको चेतावनीले उल्लेख्य जीवन बचाउँछ र सहायक प्रकोप रोक्न सहयोग गर्छ ।