Logo
७ माघ २०८१, सोमबार
(January 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी फूटबारे आयो विवेकशील साझाको प्रतिक्रिया, दियो नव गठित पार्टीलाई शुभकामना (विज्ञप्ति सहित)

काठमाडौं : वैकल्पिक भनिएको विवेकशील साझा पार्टी फुटेको समाचारसँगै उस्ले आधिकारिक रूपमा प्रतिक्रिया दिएका छन् ।

प्रवक्ता डा. सूर्यराज आचार्यले एक विज्ञप्ती जारी गर्दै नव गठन हुन लागेको पार्टीलाई शुभकामना समेत दिएका छन् । युवा पुस्ताको नयाँ तौर-तरिकाको राजनीतिक पार्टी भनिएको उक्त पार्टी शुक्रबार मात्र फुटेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले आयोगमा उज्जल थापा संयोजक रहेको दल दर्ताका लागि निवेदन दर्ता भएको हो । विवेकशील साझा पार्टीका दुई सह-संयोजक मध्ये उज्जल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

वैकल्पिक पार्टीका रुपमा आफूलाई प्रचार गर्दै आएको विवेकशील साझाले गतबर्ष सम्पन्न संघीय र प्रदेश निर्वाचनमा सहभागिता जनाएपनि संघीय संसदमा भने एक सिट पनि जित्न सकेन । प्रदेश तीनको प्रदेश संसदमा भने उक्त पार्टीका तर्फबाट तीनजना सांसद छन् ।

१६ महिनाअघि उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो । थापा र मिश्र पार्टीका संयोजक बनेका थिए।

‘उहाँहरुले चालिस प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर छ भनेर हामीलाई जानकारी दिनुभएको छ’, प्रवक्ता खरेलले भने, ‘आयोगले अब निवेदन भेरिफाइ गर्न बाँकी छ।’

विवेकशील साझा पार्टीमा केही साता यता खटपट देखिएको थियो। रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको, आफू निकटका व्यक्तिहरुलाई नियुक्ती गरेकोप्रति उज्जल थापा समूह असन्तुष्ट रहेको थियो ।

यता, विवेकशील साझा पार्टीले आधिकारिक रूपमा प्रतिक्रिया दिएको छ । उस्ले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतिक्रिया ब्यक्त गरेका हुन् ।

हेर्नुस् विज्ञप्ती जस्ताको त्यस्तै :

विवेकशील साझा पार्टीका ३८ जना केन्द्रीय सदस्यहरुमध्ये केही केन्द्रिय सदस्यहरुलाई लिएर संयोजक उज्वलबहादुर थापाले आज पौष २७ गते निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिनुभएको खबरले हामीलाई आश्चर्यचकित पारेको छ।

विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील हुनुहुन्छ।

निश्चयनै विगत केही समयदेखि पार्टीमा कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नताहरु थिए। पार्टीको चरित्र, पार्टी निर्माणको शैली र पार्टीको उद्देश्यमा भिन्नता रहेको विषय समय समयमा सार्वजनिक भइसकेको पनि थियो। नेपालभित्र र बाहिर रहेका लाखौं नेपाली नागरिकले आशा र विश्वासका साथ हेरेको विवेकशील साझा पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण कुरा हो।

पार्टीमा रहेका यस्तै मतभिन्नताहरुलाई सम्बोधन गर्न आगामी पौष ३० गते केन्द्रिय समितिको बैठक बोलाईएको थियो। हामीलाई आशा एवं विश्वास थियो – आगामी बैठकमा संयोजक थापा लगायत केन्द्रिय सदस्यहरुले आफ्ना भनाईहरु राख्नुहुनेछ, केही असन्तुष्टि रहेका भए पार्टीमा छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ। र, केन्द्रिय समितिको बैठकमा संपूर्ण नेताहरुले उदार हृदयकासाथ सकारात्मक योगदान गर्नुहुनेछ। तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो।

पार्टीका केही नेताहरुको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उदेश्यलाई घात मात्र भएको छैन, स्वयं पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवाहरु र मतदाताप्रति पनि अन्याय भएको छ। उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ।

यात्राको दौरानमा अवरोधहरु आउँछन्। तर अवरोधहरू खुलेपछि यात्राको गति स्वतः तिव्र हुन्छ। यही विश्वासका साथ पार्टीले पौष ३० गते केन्द्रिय समितिको बैठकको तयारी गरेको छ। सोही बैठकले पार्टीको राजनीतिक तथा सांगठनीक अवस्थाको समग्र समीक्षा गर्नुका साथै केन्द्रीय समिति विस्तार गरी आगामी कार्ययोजना र रणनीति तयार गरेर अगाडि बढ्नेछ।

हामीलाई विश्वास छ, सम्पूर्ण शुभेच्छुकहरू पार्टीको पछिल्लो विकसित घटनाक्रमबाट कत्ति पनि विचलित नभई जिम्मेवारीप्रति सचेत रहनुहुनेछ, संपूर्ण पार्टी सदस्यहरु, पार्टी अभियानकर्ताहरू तथा संपूर्ण पार्टी संगठनहरु नियमित रुपमा क्रियाशील रहनेछन्। यस्तो क्रियाशीलता अझ सुदृढ र एकताबद्ध हुनेछ भन्ने हाम्रो विश्वास छ।

विवेकशील साझा पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गरी देशको नेतृत्वदायी भूमिकामा पुर्याउने कुरामा हामी दृढ संकल्पिक छौं।हामीलाई संधैझैं माया गर्ने मतदाता, सुभेच्छुक सुभचिन्तक तथा आम सदस्यहरुसंग निरन्तर सहयोग र समर्थनको अपेक्षा गर्दछौं। विवेकशील साझा पार्टीलाई मूल्य–मान्यतायुक्त लोकतान्त्रिक वैकल्पिक पार्टी बनाउने अभियानमा हामी अविचलीत रहने छौँ। नयाँ दल दर्ताका लागि निवेदन दिनुभएका सबै साथीहरूप्रति शुभकामना व्यक्त गर्न चाहान्छौ।

डा. सूर्यराज आचार्य

प्रवक्ता, विवेकशील साझा पार्टी

मितिः २७ पौष २०७५

प्रकाशित मिति: Jan 11, 2019

प्रतिक्रिया दिनुहोस्