‘‘हामी परम्परागत प्रणालीबाट माथि उठ्ने प्रयासमा छौं”
जाडो याममा गत वर्ष भन्दा यस वर्ष उपत्यकामा ८० मेगावाटसम्म बिजुलीको माग बढेको छ । गत वर्ष ३२० मेगावटसम्म मात्रै माग भएको थियो । तर यस वर्ष बढेर ४०० मेगावाट पुगेको छ । जाडो मौसममा बिजुलीको माग बढे सँगै यो वर्षमा भने विगतको भन्दा निकै उच्च छ ।
जाडो मौसममा एसी, हिटरलगायतका धेरै बिजुली खपत हुने यन्त्र उपकरणहरु चल्छन् । अहिले शहरमा एसी राख्ने क्रम तीव्र भएको छ । लाइन जाँदैन भन्ने प्रत्याभूतिले पनि सिंगल लाइनका ग्राहकहरू थ्री फेज लाइनमा जाँदै गरेका विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ्ले बताए ।
उनले भने, अहिले एसी चलाउनकै लागि धेरै ग्राहकले थ्री फेज जोड्दै छन्, यसैका कारण हाम्रो वितरण प्रणालीमा लोड बढेको छ । प्रणालीको मागअनुसारको बिजुली दिन प्राधिकरण सक्षम रहेको उनले बताए । अहिले उद्योगमा पनि लोडसेडिङ हटाइसकेका घिसिङ्ले बताए । उनले भने, केही समयपछि त हामीले लौन बिजुली बढी खपत गरिदिनुपर्यो भन्ने अवस्था नै आउँदैछ । त्यसैले अहिले डिमान्ड बढेर हामीलाई राम्रै भएको छ ।
घिसिङ्ले भने, पर्याप्त बिजुली भएर मात्रै हुँदैन, त्यसलाई वितरण गर्नका लागि भरपर्दो सिस्टम पनि हुुनुपर्ने बताएका छन् । लोड बढेपछि पुरानो सिस्टम फेल हुनु स्वाभाविक नै हो ।
विगतमा बिजुलीको अभावकै कारण सिस्टम सुधारबारे ध्यान दिइएन । अहिले अभावको व्यवस्थापन भयो, त्यसले जनतामा निरन्तर बिजुली आपूर्तिको विश्वास नयाँ उचाइमा पुग्यो । र, खपत दर बढ्दै गयो तर, सिस्टम भने पुरानै रहेको घिसिङ्ले बताए ।
उनले भने, सबैले बुझ्नुपर्ने कुरा के हो भने जुन क्षेत्रमा जुन परिमाणको लोड छ, त्यसअनुरुप नै सब स्टेशनदेखि तार, जम्पर ट्रान्सफर्मरहरु हुनुपर्छ । बिजुलीको लोड सधैँ एकैनास भएर आउँदैन । कुनै समय बढ्छ, कुनै समय घट्छ । हामीले सम्भाब्य उच्चतम् लोडलाई हेरेर सिस्टमलाई तयार राख्नुपर्छ ।
जाडोमा लोड बढ्दै जाँदा सब स्टेसन, टान्सफर्मर र वितरण सञ्जाललाई पनि अपग्रेड गर्नुपर्छ । जाडोमा लोड बढेपछि धान्न नसकेर अहिले तार नै जलेर छिन्ने, ट्रान्सफर्मर पड्किने लगायतका समस्या देखिँदैछन् । हामी त्यसलाई तुरुन्त समाधन पनि गर्दैछौं ।
उनले भने, काठमाडौंमा तारको गञ्जागोल छ । यो गञ्जागोलमा समस्या आउँदा कहिलेकाँही एउटा प्राविधिक समस्या सुल्झाउन घण्टौं लाग्न सक्छ । के कहाँ छ, पत्तो हुन्न । कसरी गर्ने भन्ने निर्णय लिन प्राविधिकलाई पनि सहज छैन । यस्तो बेलामा आधा घण्टा लाइन आएन भने पनि आलोचना भइहाल्छ । यसलाई अब स्वाभाविक नै मान्नुपर्ला । यस्ता धेरै समस्याहरुसँग हामी जुधिरहेका छौं ।
हालै अन्डरग्राउड केबलिङका लागि पनि प्रयास थालेका छौं । सिस्टमलाई विश्वसनीया बनाउन कुनै एउटा क्षेत्रको सब स्टेशनमा समस्या आउँदा अर्को क्षेत्रबाट लाइन दिनुपर्ने हुन्छ । त्यसका लागि धेरै प्राविधिक तयारी गर्नुपर्छ । हामी परम्परागत प्रणालीबाट माथि उठ्ने प्रयासमा छौं । यसलाई वैज्ञानिक र विश्वसनीय बनाउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।