पर्यटन मन्त्री रवीन्द्र अधिकारीले सोमबार राजीनामा दिने संभावना, बोलाए पत्रकार सम्मेलन
बहुचर्चित वाइडबडी विमान खरीद प्रकरणमा जोडिएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीले सोमबार राजीनामा दिनु तयारी गरेका छन् ।
मन्त्री अधिकारीले बिहान १० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गर्नुहुने बताइएकाे छ, यद्यपि यसको औपचारिक पुष्टि भने भएको छैन ।
सोमबार नै लेखा समितिको बैठक तोकिएको छ । बिहान ११ बजे बस्ने बैठकले पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी भइरहेको छ ।
पर्यटन मन्त्री अधिकारीको त्रुटि देखिएको बताउँदै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिने समितिको तयारी छ ।
लेखा समितिको सिफारिसअगावै मन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारी भएको अधिकारी निकट स्रोतले बताएको छ । मन्त्री अधिकारी समाचार तयार पार्दासम्म बालुवाटारमा छलफलमा रहेका छन् ।