Logo
६ माघ २०८१, आईतबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्ज महानगरपालिका डम्पिङ साइट होइन : अध्यक्ष थापा 

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकामा केहि दिनदेखि काम लिएर जाने सेवाग्राहीहरु निराश हुँदै फर्किने गरेका छन् । महानगरपालिकामा कार्यरत कर्मचारीहरु यति देला आन्दोलनमा रहेका कारण सेवाग्राही मारमा परेका हुन् ।

स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण बिहिबारदेखि नै महानगरपालिकाको दमकलबाहेकका कामकाज ठप्प छ । फोहोरसमेत नउठाएकाले मुख्य सडकमा फोहोर थुप्रिएको छ ।

कर्मचारी समायोजनमा कर्मचारी संगठन तालिका र वृत्ति विकासका सम्बन्धमा असन्तुष्टी जनाउँदै नेपाल नगरपालिका कर्मचारी एशोसिएशन र स्थानीय तह कर्मचारी संघ ईकाई समिति वीरगञ्ज महानगरपालिकाको आव्हानमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

कर्मचारीहरुले समायोजन गर्दा महानगरपालिकामा नै कार्यरत स्थानीय तहका कर्मचारीलाई राख्नुपर्नेलगायत विभिन्न ७ वटा माग राखेका छन् । आवश्यक दरबन्दीमा निजामती कर्मचारी राखेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन वीरगञ्ज महानगरपालिका ईकाई समितिका अध्यक्ष सोहन थापा महानगरपालिकालाई आर्थिक रुपमा ध्वस्त पार्ने किसिमले कर्मचारी समायोजन गर्न लागिएकोले आन्दोलनमा उत्रनुपरेको बताउँछन् ।

‘महानगरपालिकामा आवश्यक कर्मचारीहरु पहिचान गरी यकीन दरबन्दी कायम गरौं, त्यसैलाई नगर सभाबाट स्वीकृत गरेर अगाडि बढौं, त्यसमा हाम्रो स्तर वृद्धिलगायत वृत्ति विकास सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो माग हो’ उनले भने । थापाले अगाडि थपे ‘वीरगञ्ज महानगरपालिका डम्पिङ साइट होइन, कहीँ काम नलागेका कर्मचारीहरु यहाँ ल्याएर थुपार्ने अनि जनताले ३ सय प्रतिशत कर तिरेर पाल्नुपर्ने ?’

स्थानीय कर्मचारी संघ वीरगञ्ज महानगर समितिका अध्यक्ष मुकेश गुप्ता ७ पटक ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ नभएकाले काम ठप्प पारेको बताउँछन् । ‘हामीले ७ पटक ज्ञापनपत्र त बुझाइसकेका छौं, उल्टै बखेडा गर्दै हुनुहुन्छ भनेर हामीलाई वेवास्ता गरिएको छ । यही कर्मचारी हुँदाहुँदै ४८ जना निजामती कर्मचारी घुसाइसकेका छन्’ उनले भने ।

कर्मचारीहरुले आन्दोलनमा जाने चेतावनीसहित गत पुस १२ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए ।

 

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्