Logo
१५ पुस २०८१, सोमबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घिमिरेले अवकाश लिएसँगै सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरेले अवकाश पाएसँगै ४ जना न्यायाधीशको पद रिक्त भएको छ । ६५ वर्षे उमेर हदका कारण घिमिरेले शनिबारदेखि अवकाश पाएका हुन् । शनिवारदेखि अवकाश पाएको भए पनि उनले शुक्रबारदेखि नै अवकाश लिएर घर फर्किएको सर्वोच्च अदालतले जनाएको छ ।

उनले अवकाश पाएसँगै सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद पनि रिक्त भएको छ। उनीभन्दा केही दिन अघि (१७ पुस) मा प्रधानन्यायाधीशको पदबाट ओमप्रकाश मिश्रले पनि उमेर हदका कारण अवकाश पाएका थिए । त्योभन्दा अघि जगदीश शर्मा पौडेल र गोपाल पराजुलीले अवकाश पाएका थिए ।

पौडेलले न्यायाधीशकै पदबाट अवकाश पाएका थिए भने पराजुली प्रधानन्यायाधीशबाट राजीनामा दिएका थिए । अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश बाहेक १६ जना न्यायाधीश छन् । संविधानले सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था गरेको छ ।

अब सर्वोच्चमा ४ जना न्यायाधीशको पदपूर्ति गर्नुपर्ने हुन्छ । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्नका लागि न्याय परिषद्को बैठकले निर्णय गर्नुपर्ने हुन्छ । न्याय परिषद्ले न्यायाधीश सिफारिस गरेपछि संसदीय सनुवाइ समितिबाट अनुमोदन भएर सर्वोच्चको न्यायाधीश हुन पाइन्छ ।

न्याय परिषद्‍मा प्रधानन्यायाधीशसहित सर्वोच्चका वरिष्ठ न्यायाधीश, कानुनमन्त्री, नेपाल बार एसोशियसनको सिफारिसमा नियुक्त सदस्य र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एकजना कानुनविद् रहने व्यवस्था छ । सर्वोच्चमा पेशी नपाएपछि घर विदामा बसेका दीपकराज जोशीले पनि राजीनामा गरेमा ५ जना न्यायाधीशको पद रिक्त हुनेछ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्