Logo
६ पुस २०८१, शनिबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशमा अस्वीकृत जोशी समस्यामा, शुक्रबारदेखि बुधबारसम्म घर विदामा बस्ने

दिपकराज जोशी

काठमाडौं : सर्वोच्च अदालतमा प्रधानन्यायाधीश भएर आएसँगै चोलेन्द्र शमशेर जबराले पेल्न थालेपछि वरिष्ठ न्यायाधीश दीपकराज जोशी समस्यामा परेका छन् ।

जोशी अहिले घर विदामा बसेका छन् । उनले शुक्रबारदेखि बुधबारसम्मका लागि घर विदामा बस्ने सर्वोच्च अदालतमा जानकारी गराएका छन् । उनी प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि पनि केही दिन घर विदामा बसेका थिए ।

संसदीय सुनुवाइका क्रममा ‘यहाँबाट अस्वीकृत भएका व्यक्ति सर्वोच्च अदालतमा छन्’ भनेर कुरा उठ्दा जबराले आफूले समितिको सम्मान गर्दै अघि बढ्ने बताएका थिए । उनले प्रधानन्यायाधीशको पदभार सम्हालेसँगै जोशीलाई पेल्ने रणनीति अख्तियार गरेका छन् ।

उनले आफूले पद सम्हालेकै दिन जोशीलाई राजीनामा दिन सुझाव दिएका थिए । तर जोशीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न चाहेका छैनन् । जबराले अब जोशीलाई पेशी नतोक्ने बताइसकेका छन्। त्योसँगै उनले सर्वोच्चमा रहेको जोशीको च्याम्बर पनि हटाइदिएका छन् ।

एक नम्बर च्याम्बरमा बसिरहेका जोशीको च्याम्बर हटेको हो । उक्त च्याम्बरमा वरिष्ठ न्यायाधीश बस्छन् । अहिले उक्त च्याम्बरमा दीपककुमार कार्कीलाई दिइएको छ । जबराले पेल्ने रणनीति अख्तियार गरेसँगै जोशी निरिह बन्दै गएका छन् ।

अहिले उनका लागि पेशी तोकिँदैन भने च्याम्बर पनि हटाइएको छ । जबराले नेकपालाई खुसी पार्नका लागि जोशीलाई पेल्ने नीति लिएको हुनसक्ने कतिपय न्यायाधीशहरुले आशंका गर्न थालेका छन् ।

सर्वोच्च अदालतमा न्यायाधीश बन्दा तत्कालीन एमालेबाट असहयोग भएको थियो । अहिले उनलाई नेकपाले प्रधानन्यायाधीशको कुर्सीमा बसाउने भूमिका निर्वाह गर्यो । अहिले जबराले नेकपासँगको आफ्नो पुरानो असमझदारी हटाउने कोशिश गरिरहेको पनि बुझिएको छ ।

विहीबार न्याय परिषदको बैठक डाकेर पनि जबराले वरिष्ठ न्यायाधीशका रुपमा जोशीलाई बोलाएका थिएनन् । उनले न्याय परिषदबाट पनि जोशीलाई भूमिका विहीन बनाइसकेका छन् ।

विहिबार नै गठन भएको संवैधानिक इजलासमा पनि जोशीलाई राखिएको छैन । उनले संवैधानिक इजलासबाट जोशीलाई बाइपास गरेर अरु ४ जना न्यायाधीशलाई ल्याएका छन् । सर्वोच्चमा बरिष्ठ न्यायाधीशहरुलाई क्रमैसँग संवैधानिक इजलासमा राख्ने प्रचलन छ ।

वरिष्ठ न्यायाधीशको भूमिका, आफूले प्रयोग गरिरहेको च्याम्बर, न्याय परिषदमा भूमिका विहीनता र संवैधानिक इजलासबाट समेत बाइपास भएपछि जोशी समस्यामा परेका छन् ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्