२३५ किलो चरेससहित एक नेपाली र एक भारतीय पक्राउ
काठमाडौं : लागुऔषध चरेससहित प्रहरीले एक नेपाली र एक भारतीय नागरिक पक्राउ गरेको छ । भारतीय नागरिक उत्तर प्रदेश निघौली खुर्दका सतेन्द्रसिंह बेघली र पर्साका लाल महम्मद गद्धी रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले कन्टेनरमा लोड गरी काठमाडौं हुँदै भारत लाँदै गर्दा २३५ किलो चरेससहित उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलिले धादिङ गजुरीबाट बिहिबार बिहान उनीरुलाई पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेट एचआर ३८ एस ९३७१ नम्बरको कन्टेनरमा लुकाइ छिपाई भारत लैजाँदै गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये भारतीय नागरिक सतेन्द्रसिंह बेघली कन्टेनर चालक रहेको र पर्साका लाल महम्मद गद्धी कारोबारी रहेको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिनेश अमात्यले बताए ।
गद्धी यसअघिसमेत चरेस मुद्दामा तीन वर्ष भारतीय जेलमा सजाय काटेर आएको खुलेको र उनी चरेसको मुख्य कारोबारी रहेको प्रहरीले जनाएको छ।