लामो समयदेखि जेलमा रहेका रेशम चौधरीलाई आज सांसदको सपथ, राजपाद्धारा स्वागत
काठमाडौं : कारागारमा रहेका रेशम चौधरीले बिहीबार सांसदको सपथ ग्रहण गर्ने भएका छन् । कैलालीको टीकापुरमा आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा कारागारमा रहेका चौधरीेलाई बिहीबार सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ गराउने संसद सचिवालयले जनाएको छ ।
बिहान साढे ११ बजे सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमा चौधरीलाई सपथ गराइने सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो । चौधरी सपथ ग्रहणपछि कारागार नै चलान हुनेछन् । चौधरीको दल राजपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चौधरीको सपथ गराउन दबाब दिइरहेको थियो ।
प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर एकबाट प्रत्यक्ष चुनिएका चौधरी चुनावअघि देखि नै भूमिगत थिए । चौधरीले पछि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । २०७२ साल भदौ ७ गते थरुहट प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा आठजनाको ज्यान जानेगरी भएको घटनामा चौधरी मुख्य योजनाकार रहेको आरोप लागेको छ ।
घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र एक नाबालकसहित आठजनाको ज्यान गएको थियो । टीकापुर घटनाका दोषी रहेको आरोप लागेका २७ जना कैलाली कारगारमा तीन वर्षदेखि कारागारमा छन् ।
राजपाद्धारा स्वागत
यसैबीच राष्ट्रिय जनता पार्टी नेपालले सरकारको यो निर्णयलाई स्वागत गरेको छ । महासचिव केशव झाले रेशम चौधरीलाई शपथ ग्रहण गराउने सरकारको निर्णयलाई स्वागत गर्दै सकारात्मक कदम भएको बताए ।
संचारकर्मीसंग कुराकानी गर्दै महासचिव झाले राजपा नेपाल सरकार सँग गरेको सहमती अनुसार पहिलो माग सम्बोधन भएको बताउँदै खुशी व्यक्त गर्नुभयो । उनले भने, म सरकारको यो कदमको स्वागत गर्दछु ।
सरकारको यो कदमले राजपा र सरकारबीच सम्बन्ध सुमधुर रहने र अन्य माग सम्बोधन हुनेअपेक्षा रहेको बताए ।