राष्ट्रिय प्रसारण लाइनमा ३५ मेगावाट विद्युत् गिरावट, त्रिशूली विद्युत् गृहमा आगलागी, उत्पादन बन्द
काठमाडौं : राष्ट्रिय प्रसारण लाइनमा ३५ मेगावाट विद्युत् गिरावट आएको छ ।
नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी भएको र आगलागीपछि विद्युत् उत्पादन बन्द छ।
२१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योजनाका रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारण लाइनमा ३५ मेगावाट विद्युत् गिरावट आएको छ ।
बुधबार साँझ ६ः३० बजे उत्पादन गृहको विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नम्बर ६ मा रहेको ६ दशमलव ६ केभीको जेनेरेटर जलेर पूर्ण रूपमा क्षति भएको केन्द्रका प्रमुख तारदत्त भट्टले जानकारी दिए।
आगलागीले क्षति पु-याएका उपकरण मर्मत र परिवर्तन गर्न एक करोड रुपैयाँभन्दा बढी लाग्ने देखिएको छ। विद्युत् गृह मर्मत गरी सञ्चालन गर्न करि एक साता लाग्ने प्राविधिकहरुले बताएका छन् ।
उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा लिन नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकलसहित स्थानीयलाई एक घण्टाभन्दा बढी लागेको थियो ।
आगलागीका कारण उक्त केन्द्रबाट विद्युत् उत्पादन बन्द हुँदा नुवाकोटसहित रसुवा र धादिङका केही स्थानमा विद्युत बन्द भएको छ । ती ठाउँमा राष्ट्रिय प्रसारण लाइनमार्फत बुधबार रातिदेखि विद्युत उपलब्ध गराइएको छ ।