बाहिर कठ्याङ्ग्रिँदो ठण्डी, भित्र बाफिलोे गर्मी, तर पनि २४ घण्टै सुरुङमा खट्छन् कामदार
भेरीगङ्गा, सुर्खेत : पुष महिनाको जाडो, बाहिर कठ्याङ्ग्रिँदो ठण्डी, भित्र बाफिलोे गर्मीमा लगातार काम गर्दा खल्खल्ती पसिना आउनु स्वभाविकै हो, त्यो भन्दा बढी ज्यानकै जोखिम मोलेर राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पूरा गर्न प्रविधिज्ञ र मजदूर खटिइरहेका छन् ।
सुरुङभित्र हरेक दिन दिउँसो १ देखि बिहान ७ बजेसम्म र बिहान ७ देखि साँझ ७ बजेसम्म गरी दुई समूहमा प्रविधिज्ञ र कर्मचारी खटिएका छन् । कामको समयमा खानपिन भित्रै हुन्छ तर, नियमित मेसिन चलाउनुपर्ने भएकाले उनीहरुलाई बोल्ने फुर्सद हुँदैन । आयोजनाको सुरुङमार्ग निर्माण कार्यमा खटिरहेका चिनियाँ प्रविधिज्ञ र मजदूर आफ्नो सिफ्टको काम सकिएपछि बाहिर आएर क्याम्पमा आराम गर्छन् । उनीहरु थकान बिर्सेर कठिन जिम्मेवारी पूरा गर्न दत्तचित छन् ।
भेरी नदीको पानी सुर्खेत र बर्दियाको सिमानामा अवस्थित बबई नदीमा खसालेर विद्युत् उत्पादनसँगै बाँके र बर्दियाका ५१ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ । आयोजनाका निर्देशक सञ्जिव बरालका अनुसार सुरुङमा ६०० नेपाली कामदार र ८० चिनियाँ प्रविधिज्ञ छन् । उनीहरु समूह विभाजन गरेर काम गर्छन् ।
करीब १२ किलोमिटर सुरुङ खन्नुपर्ने आयोजनाको अहिलेसम्म १० किलोमिटर १५० मिटर सुरुङ खनिइसकिएको छ । यो प्रगति ८२ प्रतिशत हो । निर्देशक बरालले भने, “सोचेभन्दा राम्रो गतिमा काम भइरहेको छ । अबको तीन-चार महीनामा टनेलको ब्रेक थ्रु हुनेछ ।” ‘चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुप’ ले ठेक्कामा निर्माण गरिरहेको उपकरणले दैनिक ५१ मिटरका दरले सुरुङ खनिरहेको आयोजनाले जनाएको छ ।
यसले हालसम्म एक दिनमा सबैभन्दा बढी ६२ मिटरसम्म खनेको छ । उपकरण ठेकेदार कम्पनीले नै भाडामा ल्याएको हो । उक्त उपकरणले चट्टान काटेर सिमेन्टको डब्बा फिट गर्नाका साथै एकैपटक खनिएको माटो बाहिर फाल्ने गर्छ । सामान सानासाना रेलको डिब्बामार्फत भित्र बाहिर गरिन्छ । मेसिन चलाउँदा दैनिक २० हजार लिटर डिजेल र ४ दशमलव ८ मेगावाट बिजुली आवश्यक पर्छ । नेपालमा यस्ता काममा ‘ड्रिल एण्ड ब्लाष्ट’ विधि अपनाइन्छ ।
आयोजनाका इञ्जिनीयर हरिप्रसाद खनालका अनुसार चीनबाट भारतको कोलकातासम्म समुद्रबाट ल्याइएको सो मेसिन पाटपुर्जा खोलेर नेपालमा ५६ वटा ट्रकमा राखेर ल्याइएको थियो । दुई सय ७४ मिटर लामो मेसिनको कुल तौल एक हजार ५६ टन छ । बाटामा पर्ने नेपाली पुलहरुको क्षमता कमजोर हुँदा मेसिन ल्याउँदा पुल भत्कने खतरा रहेपनि दुर्घटना टरेको थियो । नेपाली पुलहरुको क्षमता एक पटकमा २० टनभन्दा कम मात्र बोक्न सक्ने खालका छन् ।
नेपालमै पहिलो पटक प्रयोग गरिएको विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबिएम) चलाउन एक पटकमा कम्तीमा ६० जना कर्मचारी र प्रविधिज्ञ चाहिन्छ । टिबिएमले सोचेभन्दा तीव्र गतिमा काम गरिरहेको देखेर सरकारी निकायका प्रतिनिधि र आयोजनाका कर्मचारी जति सन्तुष्ट छन्, त्योभन्दा बढी खुशी छन् आयोजनाबाट लाभ लिने बाँके, बर्दिया र आसपास क्षेत्रका किसानहरु ।
राष्ट्रिय गौरवको यो आयोजनामा पहिलो पटक जोखिम मोलेर प्रयोग गरिएको ठूलो प्रकारको मेसिन टिबिएमले सोचेभन्दा बढी मात्रामा प्रगति गरेपछि आगामी दिनमा चट्टान क्षेत्र र चुरे पहाडमा सञ्चालन हुने यस्ता डाइभर्सन र बहुउद्देश्यीय आयोजनामा यो उपकरणको प्रयोग उपयुक्त र सहज हुने देखिएको छ । नेपालमा वर्षेनी बगेर खेर जाने २२५ बिलियन मिटर क्युब पानीमध्ये भेरी नदीको ४० एमक्युएस पानी बबईमा खन्याएर बिजुली र सिँचाइको आवश्यकता पूरा गर्ने आयोजनाको लक्ष्य छ ।
कुलेखानीमा पानी सिञ्चित गरिए झैँ यो आयोजनामा पनि पानी सिञ्चित गरी बिजुली उत्पादन हुनेछ । हाल बबई सिँचाइ आयोजनाले सो क्षेत्रमा ३६ हजार हेक्टर जमीनमा मात्र सिँचाइ गरिरहेको छ । राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदनमा त्यस वर्ष लिइएको लक्ष्यमा ९६ दशमलव १ प्रतिशत भौतिक प्रगति देखाएको छ । आर्थिक वर्ष २०६८/६९ शुरु भई आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न हुने लक्ष्य लिइएकामा त्यसअघि नै सकिने देखिएको छ । आयोजनाले कृषि उत्पादन बढ्न गई ३ दशमलव १ अर्ब अप्रत्यक्ष र २ दशमलव १ अर्ब रुपैयाँ अप्रत्यक्ष आम्दानी हुने अनुमान गरिएको छ ।
जलविद्युत् आयोजना बनाउने गरी कुल लागत रु ३३ अर्ब रहेको आयोजनाअन्तर्गत टनेलका लागि रु १० अर्ब ५६ करोड बजेट विनियोजन गरिएको छ । ऊर्जा, सिँचाइ, शहरी विकास र जलाधार संरक्षणलाई एकसाथ योगदान दिन सुर्खेत, बर्दिया र बाँके जिल्लामा कार्यान्वयन भइरहेको यो आयोजनामार्फत छिन्चु–जाजरकोट सडक खण्डको चिप्लेमा करीव १५ मिटर अग्लो बाँध बाँधी भेरी नदीको पानी बबईमा ल्याइनेछ ।
सिञ्चित क्षेत्रबाट प्रतिहेक्टर प्रतिवर्ष ७२ श्रम दिन बराबर रोजगारी सिर्जना भई गरिबी निवारणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।